कुशे औंसी तथा बाबुको मुख हेर्ने दिन मनाईंदै
SamacharDesk | २०७९ भाद्र ११, शनिबार

आज भाद्र कृष्ण औंसी अर्थात बाबुको मुख हेर्ने दिन । हिन्दुधर्मालम्बीहरू आजको दिन देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ ।
‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् ।
छोराछोरीहरू आ–आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन गराई आदर सम्मान प्रकट गर्छन् । यसैकारण आज शनिबारको दिनलाई ‘बाबुको मुख हेर्ने’ दिन र पितृ दिवससमेत भनिन्छ ।
पिता गुमाएकाहरूले भने उपत्यकाको उत्तर–पूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र श्राद्ध गर्ने परम्परा छ । त्यस्तै, बेत्रावती उत्तरगयालगायत पवित्र स्थलमा आजकै दिन पितृप्रति सम्मानका साथ श्राद्ध गर्ने गरिन्छ । यसो गरेमा पितृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता छ ।
सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् ।
वैदिक सनातन हिन्दू धर्मावलम्बी कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको स्वरूप मानी पूजा आजा गर्ने गर्छन् । कुशको पूजा आजा गरी छेदन गरेर घरघरमा भित्र्याइने दिन भएकाले वर्षभरिका १२ औंसीमध्ये आजको औंसीलाई कुशे औंसी भन्ने गरिएको हो ।
रसुवाको वेत्रावतीमा समेत आज शनिबार दिवङ्गत पिताका नाममा तर्पण, श्राद्ध र सिदा दान गर्ने गरिन्छ । पितृदेवो भवः भन्ने शास्त्रीय वचनअनुसार आज शनिबारको दिनमा जीवित बाबुलाई मीठो मसिनो खान दिएर र दिवंगत पिताका नाममा तर्पण, श्राद्ध र सिदा दान गरेर खुसी पारेमा सुख मिल्ने धार्मिक विश्वास छ । गोकर्णमा मेलासमेत लाग्छ ।
आज शनिबार नै युवा कवि मोतीराम भट्टको १५७ औं जन्मजयन्ती पनि मनाइँदै छ ।
Categorized in राष्ट्रिय