क्वाति पुन्ही, जनै पुर्णिमा तथा रक्षा बन्धन मनाईंदै
SamacharDesk – राम डंगोल | २०८१ भाद्र ३, सोमबार

हरेक वर्षको श्रावण शुक्ल पूर्णिमाका दिन नेवार समुदायहरु गुंपुन्हि चाड मनाउँछन् तागाधारीहरु जनै पुर्णिमा मनाउँछन् ।
आजको दिनलाई “गुंला महिनाको पुन्हि” अर्थात् “गुंपुन्हि” पनि भनिन्छ ।नेपाल सम्वत अनुसार यो पर्व नवौं महिनाको पूर्णिमाका दिने मनाइने पर्व भएकोले यसलाई गुंपुन्हि भन्ने गरिन्छ ।
यस दिन ९ प्रकारका गेडागुडीहरुको मिश्रण क्वाति खाने दिन भएकोले क्वाति पुन्हि पनि भनिन्छ । विभिन्न ९ प्रकारका गेंडागूडिहरु (मुंग, मास, भटमास, सानो केराउ, मस्याङ, चना, सिमी, बोडी र बकुल्लो) गरी नौ थरिका गेडागुडी मिसाइएर क्वाति तयार पारिन्छ ।
नेपाल भाषामा क्वातिको शाब्दिक अर्थ “क्वाः” भनेको तातो परिकार “ति” भनेको झोल त्यसैले “क्वाति” भनेको झोलिलो परिकार हो । अघिल्लो दिन पानीमा भिजाई राखिएको मिसाएर तयार पारिएको मिश्रणमा जब टुसा उम्रिन्छ र त्यसलाई पकाएर खाने परिकारलाई क्वाति भनिन्छ । ९ थरीको गेडागुडीको मिश्रण क्वातिमा प्रोटिनको साथमा कार्बोहाइड्रेड, आइरन, क्याल्सियम खालका पौष्टिक तत्व भरपूर मात्रामा पाइने हुँदा यसले मान्छेको रोग प्रतिरोधात्मक क्षमताको विकास गर्दछ ।
साथै वर्षातको मौसममा हुन सक्ने रोग, महामारीबाट बच्न मद्दत गर्ने, वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो हटाई ताप सञ्चार गर्छ भन्ने विज्ञहरु बताउँछन् ।
त्यसैले पछिल्लो समय यो खान्की नेवार समुदायबाट विस्तार भएर अन्य समुदायसम्म पुगेको छ । अन्य समुदायका मानिसले जनै फेरेर क्वाति खाने गर्छन् ।
आजको दिनमा काठमाडौंका हरेक बहालमा दीपङ्कर बुद्धको मूर्तिको साथै विभिन्न बौद्ध सामग्री प्रदर्शन गर्ने परम्परा पनि रहेको छ । यो दिनमा ९ थरी गेडागुडीको रस क्वाति खाएर ९ जोर लुगा फेर्दै ९ पटक ९ वटा बहालमा घुम्न जानुपर्ने कथन पनि पाइन्छ ।
नेपालभाषामा ९ लाई गु भनिन्छ । ९ अङ्कसँग सम्बन्धित भएकोले यसलाई गुंपुन्हि भनिएको पनि कथन छ । यसै अवसरमा उपत्यकाका भित्री सहरका बहाल विहारमा “बहिद्यः ब्वयेगु” भनेर दीपङ्कर बुद्धका मूर्ति एवं यससँग सम्बन्धित अरू मूर्ति, सामान प्रदर्शनका लागि राखिन्छ ।
जनै पूर्णिमा
हिन्दू धर्मावलम्बीहरू भने आजको दिन जनै पूर्णिमा अर्थात् ऋषितर्पणी मनाउँदछन् ।
जनै पूर्णीमाका दिन पुरोहितबाट नयाँ जनै फेर्नुका साथै हातमा रक्षाबन्धन बाँध्ने परम्परा छ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन आज विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधेर मनाइदैछ ।
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा रक्षाबन्धनको परम्परा प्रचलित छ ।
यस दिन मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको नाडीमा बाँधिदिने गरिन्छ ।
यसै दिन तागाधारीले आफ्नो जनै अर्थात् यज्ञोपवीत फेर्छन् । यसका लागि अघिल्लो दिनदेखि एक छाक मात्र खाएर ब्रत बस्ने चलन छ ।
यसरी व्रत बसेका तागाधारीले बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन, र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ । स्नानपछि वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ ।
कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले यो दिनलाई ऋषितर्पणी पनि भनिन्छ । जनै पुर्णिमाकै अवसरमा आज गोसाईकुण्डमा बिशेष मेला लाग्ने गर्दछ ।
भ्यागुताको पूजा
यस दिन भ्यागुताको पूजा गर्छन् । जसलाई स्थानीय भाषामा ब्याँ जाः नकेगु भन्ने गरिन्छ ।
भ्यागुतालाई पानीको प्रतीकका रुपमा लिइने भएकाले यसको रक्षा गर्न जनैपूर्णिमाका दिन विशेष पूजा गरिँदै आएको हो।
नेवार जातिले आफ्नो जीवनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबै प्राणी वा वस्तुलाई पनि तिनको सदासयतालाई सम्झी पूजा गर्ने गर्दछन्। त्यसरी पूजा गरिनेमा गुंपुन्हिका दिन भ्यागुता र कागका बच्चाहरूको जंकु (पास्नी) गर्ने चलन रहेको छ ।
भर्खरै रोपाइँ सकिएको अवस्थामा पानी जमिरहेको खेतमा आई भ्यागुताहरू ट्वारट्वार कराइरहन्छन्। भ्यागुताको आवाजले खेतमा रहेका कीरा फट्यांग्राहरू भाग्ने गर्छन् भने भ्यागुता आफैले पनि कीरा फट्यांग्राहरू खाएर बालीको सुरक्षा गरिदिन्छ भन्ने भनाई छ ।
भ्यागुतोको यिनै गुणलाई सम्झेर उनलाई खेतमा गएर भात खुवाउने काम गुंपुन्हिका दिन गरिन्छ ।
रक्षा बन्धन
मधेशी समुदायहरु रक्षाबन्धन पर्व मनाउने गर्दछ ।
दिदीवहिनीहरुले आफ्ना दाजुभाइका दाहिने हातका नाडीमा दिर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फुल जोडिएको राखी लाइदिने चलन चल्दै आएको छ ।
रक्षा बन्धन दुई शब्दहरू मिलेर बनेको छ, रक्षा र बन्धन । संस्कृत शब्दावलीको अनुसार यसको अर्थ सुरक्षाको गाँठो हुन्छ। यो चाड दाजुभाइदिदिबहिनी सम्बन्धको अनन्त प्रेमको प्रतीक हो।
यो केवल रगतको सम्बन्ध मात्र नभई आफूले दिदीबहिनी या दाजुभाइ मानेका यस्ता अन्य सम्बन्धमा पनि मनाइन्छ।
यस दिन, दिदीबहिनीले आफ्नो सफलता, स्वास्थ्य र खुसीको प्रार्थना गर्न आफ्ना दाजुभाइको हातमा रक्षा बन्धनको धागो बाँधिदिने चलन छ।
त्यसै गरि दाजुभाइले पनि दिदीबहिनीलाई उपहार दिन्छन् र आफ्ना दिदीबहिनीलाई हरेक परिस्थितिमा जोगाउने बचन दिन्छन् ।
Categorized in संस्कृति