ला लिगामा रियल मड्रिड शिर्ष स्थानमा
SamacharDesk – स्पोर्ट्स ब्यूरो | २०७७ पौष १९, आइतबार

स्पेनिश ला लिगा अन्तर्गत गएराती सम्पन्न खेलमा रियल मड्रिड सेल्टा भिगोलाई हराउँदै शिर्ष स्थानमा उक्लिएको छ । आफ्नै मैदान सान्टियागो बर्नाबेउ स्टेडियममा भएको खेलमा रियलले सेल्टालाई २–० ले हराइदिएको हो ।
जित आफ्नो पोल्टामा पार्न रियलका लुकास भाज्क्वेज र मार्को एसेन्सीयोले एक/एक गोल गरे । खेलको छैठौं मिनेटमै लुकासले रियललाई अगाडी बढाए । त्यस्तै दोश्रो हाफमा ५३औं मिनेटमा मार्कोले दोश्रो गोल थप्दै रियलको जित सुनिश्चित बनाए ।
यो जितसँगै १७ खेलबाट ३६ अंक जोड्दै रियल शिर्ष स्थानमा उक्लिएको छ । १४ खेलबाट ३५ अंक जोडेको एथ्लेटिको मड्रिड दोश्रो स्थानमा झरेको छ । रियलसँग पराजित सेल्टा भिगो १७ खेलबा २३ अंकसहित ८औं स्थानमा छ ।
लेभान्तेमाथि भिल्लारियलको जित
ला लिगाअन्तर्गत गएराति नै सम्पन्न अर्को खेलमा भिल्लारियलले लेभान्तेलाई २–१ ले हराएको छ । खेलमा भिल्लारियलको फर्नान्डो निनोले १९ औं र जेरार्ड मोरेनोले ५४ औं मिनेटमा एक/एक गोल गरे ।
लेभान्तेका लागि ७३ औं मिनेटमा सर्जियो लियोनले सान्त्वना गोल गरे ।
तालिकामा चौथो स्थानमा रहेको भिल्लारियलको १७ खेलबाट २९ अंक छ भने १६ खेलबाट १८ अंकसहित लेभान्ते १२औं स्थानमा छ ।
गेटाफे भालाडोलिडसँग पराजित, बेटिस र सेभिल्लाबीच बराबरी
ला लिगा अन्तर्गत गएरातीकै अर्को खेलमा रियल भालाडोलिडले गेटाफेलाई १–० ले पाखा लगाएको छ । खेलको ७३ औं मिनेटमा रियलका शन वुइसम्यानले गरेको गोल नै खेलको निर्णायक बन्यो ।
१७ खेलबाट १८ अंक जोडेको भालाडोलिड १४ औं स्थानमा छ भने १५ औं स्थानको गेटाफेको १६ खेलबाट १७ अंक छ ।
रियल बेटिस र सेभिल्लाको खेलमा भने १–१ गोलको बराबरी भएको छ । खेलको ४८ औं मिनेटमा सुसोले गोल गर्दै सेभिल्लालाई अग्रता दिलाएका थिए ।
तर ५३ औं मिनेटमा बेटिसले पेनाल्टी हान्न अवसर पायो । पेनाल्टीलाई गोलमा परिणत गर्दै सर्जियो क्यानालेसले खेललाई बराबरीमा ल्याइदिए । खेलको बाँकि समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल बराबरीमा सकियो ।
१५ खेलबाट २७ अंक जोडेको सेभिल्ला ५ औं स्थानमा छ भने ९ औं स्थानको बेटिसको १७ खेलबाट २० अंक छ ।
Categorized in स्पाेर्ट्स