arin enterprises

पाँच ठूला महानगरपालिकाले ५० अर्ब बढीको बजेट विनियोजन गर्यो

SamacharDesk | २०८१ आषाढ १२, मंगलबार

स्थानीय तहले सोमवार पाँच महानगरपालिकाको नगर सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि बजेट प्रस्तुत गरेका छन् ।

आगामी आर्थिक वर्षका लागि देशका ठूला स्थानीय तह अर्थात् पाँच ठूला महानगरपालिकाले सोमवार ५० अर्ब बढीको बजेट विनियोजन गरेका छन् ।

वागमती प्रदेशका ३ कोशी प्रदेशको १ र गण्डकीको १ गरी ५० अर्ब ७५ करोड ७ लाख ७ हजार बराबरको बजेट प्रस्तुत गरेका छन् । पाँच महानगरमध्ये काठमाडौं महानगरपालिकाले सबैभन्दा ठूलो झण्डै २६ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

त्यस्तै सबैभन्दा सानो आकारका बजेट विराटनगर महानगरपालिकाले ल्याएको छ । उसले आर्थिक वर्ष २०८१/८२ कालागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजारको अनुमानित बजेट ल्याएको छ ।

त्यस्तै, ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ७ अर्ब ४६ करोडको बजेट ल्याएको छ । महानगरकी उपप्रमुख मञ्जली शाक्यले सोमबार प्रस्तुत गरेको बजेटमा चालु खर्चतर्फ २ अर्ब ७८ करोड ८९ लाख र पुँजीगततर्फ ४ अर्ब ६७ करोड ९४ लाख विनियोजन गरिएको छ ।

ललितपुरले महानगरपालिकाले गत वर्षको तुलनामा १५ प्रतिशत बजेटको आकार बढाएर ल्याएको छ । चालु आर्थिक वर्षका लागि महानगरले ६ अर्ब ५० करोड पाँच लाख ८८ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।

स्रोत व्यवस्थापनतर्फ संघीय सरकारबाट एक अर्ब ३२ करोड ८० लाख र बागमती प्रदेश सरकारबाट २२ करोड ९२ लाख ९२ हजार प्राप्त हुने अनुमान गरेको छ ।

त्यस्तै पोखरा महानगरपालिले आर्थिक २०८१/८२ का लागि ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार ल्याएको छ । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०८१/८२ का लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँको बजेट पेस गरेको छ ।

देशका ७५३ वटा स्थानीय तह मध्ये अधिकांशले हिजो आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् ।

असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट पेश गर्नुपर्ने संवैधानिक बाध्यता अनुसार स्थानीय तहले बजेट ल्याएका हुन् ।

Categorized in स्थानीय