लमपा १९ वडा सद्भाव मेला सुरु
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० पौष १४, शनिबार

ललितपुर महानगरपालिका (लमपा) वडा नं १९ सद्भाव मेला २०८० सुरु भएको छ । आज एक कार्यक्रमको आयोजना गर्दै लमपा १९ वडाले मेला औपचारीक रुपमा सुरु गरेको हो ।
कार्यक्रममा ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले मेलाको औपचारिक उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै महानगर प्रमुख महर्जनले मेलाले अरु नगरपालिकालाई पनि सद्भावको सन्देश दिने बताए । त्यस्तै ललितपुर महानगरपालिकामा यो मेला जस्तै मूर्त र अमूर्त सम्पदा संरक्षणका लागि अरु कार्यक्रमहरु पनि तयार भइसकेको महर्जनले बताए ।
‘ललितपुर महानगरमा मूर्त र अमैर्त धेरै सम्पदाहरु रहेका छन्, यसको संरक्षणको लागि महानगरपालिका सधै लागिरहनेछ’ नगरप्रमुख महर्जनले भने ।
महानगरपालिका उपप्रमुख मञ्जली शाक्य बज्रार्चायले ललितपुर महानगरपलिकाको १९ वडा महानगरकै सानो वडा भएपनि यहाँको संस्कृति र जातिमा धेरै विबिधता भएको र त्यहि विविधतालाई मेलाले एकताबद्ध बनाएको विचार राखिन् ।
‘अरु मेलाहरुलाई उद्योगमेला, व्यापारमेला भन्ने गर्छ तर यहाँको बिविधतामा एकता देखाउन नै हामीले सद्भाव मेला भनेका हौं’ उपप्रमुख शाक्यले भनिन् ।
स्थानीय समाजमा सद्भावको सन्देश फैलाउनुका साथै स्थानीय संस्कृतिको प्रचार प्रसार, पर्यटन प्रवर्ध्दन र १९ वडामा रहेको स्थानीय व्यापार व्यवसायको उत्थान गर्न यो मेलाको आयोजना गरिएको वडाध्यक्ष राजेन्द्र महर्जनले बताए ।
समुद्घाटन कार्यक्रममा भैरव भजन खलः र महालक्ष्मी भजन खलःले मंगलगान गाएको थियो भने अग्निशाला व्यवस्थापन समितिका देव ब्राह्मणद्वारा स्वस्तिवाचन गरिएको थियो । मेला उद्घाटन कार्यक्रममा कुमारी र लाखे नृत्य पनि प्रस्तुत गरिएको थियो ।
लमपा १९ वडाको पुर्णचण्डी, अग्निशाला, तलाछेँ, इतापुखू, इखालखु, तिछुँगल्ली, इकुबाःननि, राजश्री महाविहार, इवाःननि, मच्छिन्द्र बहाल, टंगल, थटी र इति क्षेत्रमा मेला भइरहेको छ ।
मेलामा प्रत्येक टोलले मौलिकता र प्राचिनता झल्किने विभिन्न कार्यक्रमहरुका साथै महिला समुहद्वारा उत्पादित सामाग्रीहरुको प्रदर्शनी, साँस्कृतिक झाँकी, प्राचिन हस्तकला प्रदर्शनी, रहनसहनको प्रदर्शनी र रातो मच्छिन्द्रनाथलाई ललितपुरमा विराजमान गराइएको ईतिहास लगाएतका अन्य धेरै सामग्रीहरु हेर्न पाइनेछ ।
फोटो :- आकाश
Categorized in स्थानीय