arin enterprises

सन्दीपविरुद्ध पुनरावेदन नगर्ने गौशाला २६ को निवेदन

SamacharDesk | २०८१ श्रावण ११, शुक्रबार

नेपाली क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको बलात्कारको मुद्दाबाट उन्मुक्ति पाउने भएका छन् ।

पीडित ‘गौशाला २६’ले पाटन उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय लिएको भन्दै महान्यायाधीवक्ता र सरकारी वकिलको कार्यालयमा निवेदन दिएकी छन् ।

उच्च अदालत पाटनले लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको थियो ।  उक्त मुद्दाको पूर्णपाठ तयार भएर मंगलबारमात्र उच्च सरकारी वकिल कार्यालयमा आइपुगेको थियो ।

बिहीबार गौशाला २६ आफै निवेदन लिएर पुगेकी थिइन् । उनले निवेदनसँगै आफ्नो नागरिकताको सक्कलप्रति पनि बुझाएकी छन् । उनले आफू यो मुद्दाका कारण धेरै मानसिक तनावमा परेको र सामाजिक रूपमा समेत अप्ठ्यारो अवस्थामा परेका कारण थप अगाडि नबढोस् भन्ने चाहना राखेर निवेदन दिएको दाबी गरेकी छन् । 

गौशाला २६ को आफ्नै हस्तलिखित निवेदन ३३२ नम्बरमा दर्ता गरिएको पाटन उच्च सरकारी वकिलको कार्यालयले जनाएको छ । उनले आफूमाथि प्रतिवादीबाट बलात्कार नभएको र विभिन्न संस्था र ब्यक्तिका कारण मुद्धा हालेको भन्दै मुद्दाका कारण आफूलाई मानसिक तनाव भएको निवेदनमा उल्लेख गरेको बुझिएको छ ।

अहिले पनि विभिन्न व्यक्ति तथा संस्थाले प्रतिवादी विरुद्ध भ्रमपूर्ण अफहवा फैलाएर आफूमाथि दबाव बढाएको पनि उनको निवेदनमा उल्लेख रहेको सरकारी वकिलको कार्यालय स्रोतले जनाएको छ ।

२०७९ भदौमा उनले हालेको बलात्कारको मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई दोषि ठहर गरेको थियो भने गत जेठ २ गते पाटन उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गर्दै जिल्ला अदालतको फैसला उल्ट्याएको थियो ।

पीडितले प्रतिकार गरेको, कराएको, चिच्याएको, तेस्रो व्यक्तिसँग आत्मरक्षाको लागि कुनै सहयोगको याचना गरेको नदेखिएको विषयलाई अदालतले सफाइको एउटा आधार बनाएको थियो ।

यो तथ्यलाई वोजनी होटल नगरकोटका सुपरभाइजर समिर पुरी, होटल इनका सुरक्षाकर्मी राजन राणा, बाबुकाजी थापामगर, होटल इनका वेटर सबिन श्रेष्ठ, रिसेप्सनिष्ट अनिष श्रेष्ठको कागज र बकपत्रबाट समेत उक्त होटेलमा जान पीडितको सहमति रहेको पुष्टि भएको अदालतको ठहर थियो  ।

Categorized in स्पाेर्ट्स