arin enterprises

सभापति लामिछानेलाई कास्की पुर्याइयो, देशभर प्रदर्शन

SamacharDesk | २०८१ कार्तिक ३, शनिबार

शुक्रबार पक्राउ पर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ ।

सहकारी ठगीको आरोपमा पक्राउ पर्नु भएका लामिछानेलाई आज विहान तीन बजे जिल्ला प्रहरी कार्यालय कास्कीमा पुर्याइएको छ । उनलाई पोखरा स्वस्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी कास्की पुर्याइएको हो ।

उनलाई भोलि मात्र कास्की जिल्ला अदालतमा उपस्थित गराइने बुझिएको छ । आज शनिवार सार्वजनिक विदा भएकोले प्रहरीकै हिरासतमा राखेर उनलाई भोलि मात्रै अदालतमा उपस्थित गराउन लागिएको हो ।

सभापति लामिछानेले जीवी राईसँग मिलेर देशका विभिन्न सहकारीबाट करोडौं रुपैयाँ गोर्खा मिडियामा लगानी गरेको आरोपमा पक्राउ गरिएको हो ।

पोखरास्थित सूर्यदर्शन सहकारी ठगीमा लामिछानेमाथि किटानी उजुरी परेकाले कार्यकर्ताको नाराबाजीलाई छल्दै सीआईबीले रातारात लामिछानेलाई कास्की प्रहरीको जिम्मा लगाएको थियो ।

यता सभापति लामिछाने पक्राउ परेपछि रास्वपा कार्यकर्ताले काठमाडौं पोखरासहित देशका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् । पोखरामा विहानैदेखि भेला भएका रास्वपा कार्यकर्ताले सरकार विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

उपसभातिद्वय स्वर्णीम वाग्ले र डीपी अर्याल तथा प्रवक्ता मनिष झा समेतको सहभागितामा पोखराको जिरो किलोबाट उनीहरुले जुलुस निकालेर चिप्लेढुंगामा कोणसभा गरेका छन् ।

कोणसभामा बोल्दै रास्वपा उपसभापति वाग्लेले संगठित अपराध गर्नेहरु अहिलेको सरकारमा रहेको आरोप लगाउनु भयो । रवि लामिछानेलाई एक दिन भए पनि जेल हाल्नेपर्छ भन्ने पूर्वाग्रह राखेर उनीहरुले लामिछानेलाई पक्राउ गरेको उहाँको भनाइ थियो ।

रास्वपा कार्यकर्ताले यता काठमाडौंको माइतीघरमा पनि प्रदर्शन आयोजना गरेका छन् भने चितवनमा पनि रास्वपाले प्रदर्शन गरेको छ । चितवनबाट पोखरा जान लागेका रास्वपाका कार्यकर्तालाई भने प्रहरीले रोकेको छ ।

Categorized in राजनीति