arin enterprises

‘लम्पी स्किन’ रोग ७१ जिल्लामा फैलियो

SamacharDesk | २०८० आषाढ २४, आइतबार

गाईभैँसीमा लाग्ने ‘लम्पी स्किन’ रोगले महामारीको रुप लिन लागेको छ । अहिलेसम्म यो रोग ७१ जिल्लाका गाइभैंसीमा फैलिसकेको जनाएको छ ।

रोगका कारण अहिलेसम्म साढे २५ हजारभन्दा बढी गाइभैंसी मरेको तथ्यांक सार्वजनिक भएको छ । पशु सेवा विभागका अनुसार हालसम्म ६ लाख ९० हजार ६९७ पशु यो रोगबाट संक्रमित भएका छन् ।

सुरुमा मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं. ११ मा २०७७ साल असार १२ गते पहिलो पटक गाईभैंसीमा यो रोगका लक्षण पुष्टि भएको थियो । यो एक प्रकारको सरुवा रोग हो ।

पछिल्लो समय गर्मी सुरु भएसँगै बस्तुभाउमा यो रोग फैलिँदै गएको हो । पशु सेवा विभागकाका अनुसार सरकारले लम्पी स्किनलाई महामारी भनेर घोषणा नगरे पनि सरकारी अधिकारीहरू महामारीकै रूपमा बस्तुभाउमा यो रोग फैलिएको स्विकार्छन् ।

केन्द्र, प्रदेश र स्थानीय सरकारको समन्वयका अभावमा देशभर यो रोगले भयावह रूप लिएको विभागका कर्मचारी बताउँछन् । लम्पी स्किनले धेरै गाईभैँसी प्रभावित भएपछि पशुसेवा विभागले प्रत्येक पालिकालाई बिहीबार चालु आर्थिक वर्ष अन्तर्गतकै बजेटबाट एक–एक लाख रुपैयाँ पठाएको छ ।

लम्पीस्किन जस्ता रोगले गाईंभैंसी सखाप हुनलाग्दा समेत पशुपन्छीको क्षेत्रमा २ प्रतिशत बजेट छुट्याएकोले रोग नियन्त्रण तथा पशुहरुलाई भ्याक्सिन किन्न समेत रकम अभाव भएको विभाग बताउँछन् ।

यता कृषि तथा पशुपन्छीमन्त्री डा। वेदुराम भुसालले भने पशुमा लाग्ने ‘लम्पी स्किन’ रोग नियन्त्रणका लागि मन्त्रालय गम्भीर रूपमा लागेको बताउनुभएको छ ।

पशुमा महामारीका रूपमा फैलिरहेको लम्पी स्किन रोग नियन्त्रणका लागि सात वटै प्रदेशमा अध्ययन गर्न टोली पठाइसकेको बताउँदै उहाँले रोग  नियन्त्रणका लागि औषधी खरिद गर्नका लागि १० करोड रुपियाँ पनि छुट्याइसकेको जानकारीसमेत गराउनुभयो ।

हालै पुनर्गठन भएको राष्ट्रिय किसान सञ्जालले बुझाएको २२ बुँदे ज्ञापनपत्र बुझ्दै मन्त्री भुसालले लम्पी स्किन रोग नियन्त्रणका लागि आफूले कुनै कसर बाँकी नराख्ने बरु किसान तथा सङ्घ संस्थाले पनि सहयोग गरे चाँडै नियन्त्रणमा आउने बताउनुभयो ।

Categorized in समाज