arin enterprises

स्व. मानन्धरको पुण्यतिथिमा “परिवर्तनका संवाहक लक्ष्मीदास” पुस्तक विमोचन

SamacharDesk – Ram Dangol | २०७९ माघ ८, आइतबार

भाषासेवी, धर्मसेवी, सफल उद्यमी, राजनीतिज्ञ एवं समाजसेवी स्वर्गीय लक्ष्मीदास मानन्धरको जीवनीमा आधारित पुस्तक परिवर्तनका संवाहक लक्ष्मीदास मानन्धरको विमोचन गरिएको छ ।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुस्तकको विमोचन गर्नुभयो । मानन्धर जीवित हुँदा नै सुरु गरेको पुस्तकलाई उहाँ दिवंगत भएपछि लेखकद्वय लक्ष्मण अधिकारी तथा शुभेच्छा विन्दु तुलाधरले अन्तिम रुप दिनुभएको हो ।

पुस्तक लोकार्पण गर्दै पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले लक्ष्मीदास बहुप्रतिभाशाली र प्रेरणादायी व्यक्तित्व रहेको बताउँदै नयाँ पुस्ताले लक्ष्मीदास र उनको पुस्ताबाट अनेकौँ शिक्षा लिन सक्ने भन्दै उद्यमी, समाजसेवी, भाषासेवी, धर्मसेवीलगायत सबैले उनीबाट धेरै कुरा सिक्न सक्ने बताए ।

कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठले कविता रचनामार्फत लक्ष्मीदास मानन्धरले भाषा, धर्म, व्यापार, समाजसेवाको क्षेत्रमा अतुलनीय योगदान पुर्यारएको उल्लेख गर्दै लक्ष्मीदास अनुकरणीय व्यक्तित्व भएको बताए ।

त्यस्तै, पुस्तकका लेखक लक्ष्मण अधिकारीले लगनशीलता र कर्मशीलताले लक्ष्मीदास सफल उद्योगपति व्यवसायी एवम् समाजसेवी बन्नुभएको र परिवर्तनमा उनको योगदान रहेको उल्लेख गरे ।

लुम्बिनी विश्वविद्यालयका पूर्व उपकुलपति त्रिरत्न मानन्धर, भाषासेवी मल्ल के सुन्दर लगायतले मन्तव्य धारणा राख्ने क्रममा स्वर्गीय लक्ष्मीदास मानन्धरको योगदानको स्मरण गर्दै उनको जीवन बहुआयामिक रहेको बताए ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, जनकवि दुर्गालाल श्रेष्ठ, लेखक लक्ष्मण अधिकारी, लुम्बिनी विश्वविद्यालयका पूर्व उपकुलपति त्रिरत्न मानन्धर, भाषासेवी मल्ल के सुन्दर, धर्मोदय सभाका अध्यक्ष एवम् उद्योगपति पद्मज्योति, पूर्वमन्त्रीहरू जीवनराम श्रेष्ठ, तीर्थराम डङ्गोल, साल्ट ट्रेडिङका सञ्चालक प्रदिपलाल श्रेष्ठ, चेम्बर उपाध्यक्ष एवम् साल्ट ट्रेनिङकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ, उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन लगायतको उपस्थिति रहेको थियो ।

Categorized in पेजथ्री