arin enterprises

नेता र समाजबाट सामाजिक सञ्जालमार्फत जोशीलाई श्रद्धान्जली दिईँदै

SamacharDesk – बिराज | २०७७ चैत्र १३, शुक्रबार

नेपाली काँग्रेसका केन्द्रीय सदस्य साथै पुर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीलाई समाजमा सबैसँग नजिक रहने नेताको रुपमा लिइन्छ । टोल, छिमेक, समाजमा उनी सबैका प्रिय रहन्थे । मष्तिष्कघातपछि नर्भिक अस्पतालमा उपचाररत उनको उपचारको क्रममा मृत्यु भएपछि अहिले सबैले सामाजिक संजालमा श्रद्धान्जली पोखिरहेका छन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वर्गीय जोशीलाई कुशल संगठकको संज्ञा दिँदै जोशीको निधनले काँग्रेसले एक इमान्दारर निष्ठावान नेता गुमाएको बताएका छन् ।

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष साथै पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले स्वर्गीय जोशीप्रति श्रद्धान्जली पोख्दै पार्टीको घेराभन्दा माथि उठेर सम्मान गरिने नेताहरुमध्ये वहाँ पर्ने बताउनुभएको छ ।

‘राजनीतिमा निष्ठा र नैतिकताको खडेरी परिरहेको बेला नेपाली काँग्रेसका नेता तथा असल मित्र नवीन्द्रराज जोशीको निधनले अत्यन्त दुःखित बनाएको छ’ भट्टराईले भनेका छन् ।

 

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पनि जोशीप्रति श्रद्धान्जली पोख्दै ट्वीटरमा लेखेका छन्, ‘केही दिन पहिले अस्पतालमा भेट्न जाँदा परिवारका सदस्यहरुबाट नवीन्द्रराज जोशीजीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गरेको सुन्दा आशा पलाएको थियो । तर त्यो आशा क्षणिक मात्रै हुन पुग्यो ।’

नेपाली काँग्रेसबाट प्रतिनिधि सभाका सांसद गगन थापाले आफुले एक समन्वयकारी, सालिन नेता र विद्यार्थी कालदेखिका अग्रज मार्गदर्शक गुमाएको लेख्दै ट्वीट गरेका छन् ।

‘नविन्द्र दाई, हामीमाझ हुनुहुन्न भनेर पत्याउन सकिरहेको छैन । पार्टी संगठनका विचार अनि विकासका थुप्रै कुरा सिक्न र संगै काम गर्न बाँकि थियो’ थापाले आफ्नो ट्वीटमा लेखेका छन् ।

 

नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले जोशीप्रति श्रद्धान्जली पोख्दै ट्वीट गरेका छन्, ‘सौम्य, मृदु भाषी, आशालाग्दो भविष्य बोकेका ससक्त, जुझारु, असल र इमान्दार नेका नेता प्रिय भाई नवीन्द्रराज जोशीको निधनको खबरले अत्यन्त दुःखित र मर्माहत छु ।’

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लेखेका छन्, ‘उहाँको मृत्यु भएको छैन, फेरिपनि लेख्न मन छ यो खबर झुठो हो ! तर लेख्नु परेको छ अलविदा नविन्द्र दाई ! ! ! ! ! ! !’

नेपाली काँग्रेसका महामन्त्री पुर्णबहादुर खड्का, संविधानविद् भीमार्जनु आचार्य, नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइराला, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, नेकपा एमालेका नेता योगेश भट्टराईलगायतले पनि सामाजिक सञ्जालमार्फत स्वर्गीय जोशीप्रति श्रद्धान्जली पोखेका छन् ।

Categorized in राजनीति