सकारात्मक सोचको विकास गरौं, समाजको आत्मबल बढाउन सहयोग गरौं
SamacharDesk – धारणा शान्दिल्य | २०७८ बैशाख ३१, शुक्रबार

यो लेख मैले तयार गर्न खोजेको अहिले होइन, धेरै समय भइसक्यो तर, समयले साथ नदिएर थाँति परिरहेको थियो । आज अनायासै यो कोरोनाको दोश्रो लहरले नेपाललाई आक्रान्त पारेको समयमा मानसपटलमा घुमिरहेका शब्दहरुलाई कापिमा उतारीहाल्न मन भयो ।
अहिलेको समय भनेको नेपाली समाजमात्र होइन, प्राय पुरै विश्व डरत्रासमा गुज्रिरहेको छ । नेपाली समाजमा त्यसै त मानिसहरु दिन काट्नको लागि प्रसङ्ग विनाका विभिन्न विषयलाई पनि छानेर बसिबियाँलो गर्दथे । अहिले भने संसारभर कोभिड १९ को संक्रमण फैलिएको अवस्थामा मानिसहरुबीच भेटवार्ता नभएपनि फोनवार्ता वा मेसेन्जर, जुम आदिमा भर्च्युअल वार्ता निकै हुने गरेको छ ।
पहिला पहिला खाना खानुभयो भनेर सोध्ने मानिसहरु अहिले भने तपाईँको तिर कोरोना छ कि छैन भनेर सोध्ने गरिरहेका छन् । अनि त्यस्तै गफको बीच ‘अरे’ का कुरा धेरै खुबै निस्किने गरेको देखिन्छ । ‘अस्पताल गयो भने त त्यसै मारिदिन्छ अरे, अनि कोरोना संक्रमण भनेर सबै अङ्ग निकालेर बेच्छन् अरे, कोरोनाले त केही नभएको मानिसलाई पनि असर गरेर मर्छन् अरे’ यस्ता यस्ता कुराहरु नै हुने गर्दछ फोनमा वा जुममा ।
तर, कसैले सोचेको छ यस्तो अरेको टिकाटिप्पणीले गर्दा हाम्रो बा–आमामा अनि घरमै बस्ने गृहिणी दिदीबहिनीहरुमा कस्तो असर पर्दछ भनेर । हो, यो घडि सबैको लागि निकै अप्ठ्यारो छ तर नकारात्मक टिकाटिप्पणी भन्दा सकारात्मक कुराहरु बढि गर्ने गरेमा राम्रो हुने थियो कि ? संचारमाध्यमले पनि समाजमा संक्रमणसँग लड्ने साहस बढ्ने सकारात्मक विषयवस्तुहरुलाई बढि ठाउँ दिएमा भयावह स्थिती रोक्न समाज तयार हुन सक्थ्यो कि ।
अहिले जसरी नकारात्मक विषयवस्तुहरु मात्रै प्रचार गर्ने हो भने कोरोना नलागेतापनि मानसिक सन्तुलन गुमाउनेको संख्या बढ्ने कुरामा शायद दुइमत नहोला । हाम्रा संचारकर्मी दाजुभाई–दिदीबहिनीको साथै फेसबुकमा पोस्ट गर्ने आम सर्वसाधारणले पनि नकारात्मक भन्दा सकारात्मक कुरालाई अगाडी बढाएमा मानिसले आत्मविश्वासका साथ यो रोगलाई जित्न सक्दछ ।
सानो कक्षामा पढ्ने विद्यार्थीलाई शिक्षक शिक्षिकाले भनेको बाहेक अरु गलत लाग्ने गरे जस्तै अहिलेको धेरैजसो सोझा मानिसमा संचारमाध्यमले भनेका कुरा नै सहि लाग्ने गरेको छ । त्यसैले संचारमाध्यमले सकारात्मक र सहि समाचार सम्प्रेषण गर्न सकेमा मात्र आजको परिस्थिती सहजरुपमा अगाडी बढाउन सहयोग पुग्ला ।
सरकारलाई दोष दिएर मात्र बसेर स्थिती सहज बन्ने छैन । दोषारोपणमै समय विताइ रहनुको साटो हामी आफैं सजग हुनु आजको आवश्यकता हो । हामीसँग आफै सजग र सचेत भएर दैनिक जीवनमा फर्कनुको विकल्प छैन । यस्तै अवस्था रहिरहेमा समाजमा अपराधका घटना दिन दुई गुणा रात चौगुणा हुनेमा शंका छैन ।
बाँच्नको लागि मानिसले जे पनि गर्न सक्छ । त्यसैले खान नपाएको मानिसले आपराधिक मनस्थिती बनाउनु कुनै नौलो कुरा हुने छैन । काम गर्नको लागि काम पनि नहुने अनि मागेर पनि नपाउने भएपछि मानिसले चोरीदेखि लिएर डकैती आदि सबै गर्न सक्छ ।
जन्मँदै कुनै पनि मानिस खराव हुँदैन । खराब समय र परिस्थितीले मानिसलाई नराम्रो काम गराउने हो । त्यसैले दैनिक जीवन सजगताका साथ अघि बढाउनु आजको आवश्यकता हो ।
आजको परिस्थिती हेरौं न, उपचारको क्रममा विरामीलाई केही भइहालेमा स्वास्थ्यकर्मीमाथि हातपात गरिन्छ, अस्पतालमा तोडफोड गरिन्छ । यसको साथमा समाजमा सुरक्षाकर्मीलाई नकारात्मक दृष्टिले हेर्ने गरेको पाइएको छ । उनीहरुले रोग बोकेर ल्याउँछन् भनेर हेयको दृष्टिले हेरिन्छ ।
हाम्रा यी चाड हिजो पनि थिए र भोलि पनि रहनेछ । आजको हाम्रो आवश्यकता भनेको कोरोनालाई पराजित गर्नु हो
प्रिय समाज, यदि सुरक्षाकर्मी भएनन् भने तिम्रो सुरक्षा कसले गर्छ ? अनि तिमी अस्वस्थ भएमा तिम्रो उपचार कसले गर्छ ? सोचेका छौ तिम्रो यस्तो व्यवहारले यी पेशाप्रति मानिसको वितृष्णा बढ्न सक्छ भनेर ?
यदि छैन भने बेलैमा सोच, यदि सुरक्षाकर्मी र स्वास्थ्यकर्मी हाम्रो देशमा उत्पादन भएन भने हाम्रो जीवन के होला ? त्यसैले अग्रपंक्तिमा खटिएर काम गर्ने मानिसहरुलाई हौसला देउ । गाली हैन तालीले सम्मान गरौं । यसो गर्न सकेमा हामीले सुरक्षा र स्वास्थ्य दुबैबाट बञ्चित हुन नपर्ला ।
संक्रमण बढेको पनि कस्तो समयमा हेर्नु न । अहिले हामी हिन्दुहरुको लागि चाडबाड लस्कर लाग्दै आइरहेको छ । धेरैलाई चाडबाड मनाउन नपाएर मनोवैज्ञानिक असर पर्न गएको देखिन्छ । तीजमा माइतीमा जान नपाउनु, सोर्ह श्राद्ध राम्ररी गर्न नपाउनु साथै यस वर्षको महान चाड बडादशैं मनाउन पाईँदैन कि भन्ने चिन्ता लागेको छ ।
हाम्रा यी चाड हिजो पनि थिए र भोलि पनि रहनेछ । आजको हाम्रो आवश्यकता भनेको कोरोनालाई पराजित गर्नु हो, जुन जोडिएर भन्दा छुट्टिएर बस्न सकेमा मात्र सम्भव छ । त्यसैले यी चाडपर्वलाई साधारण ढङ्गले औपचारिकता मात्र पूरा गर्दै अगाडी बढ्नुपर्ने देखिन्छ ।
जब नेपालमा कोरोनाको पहिलो लहरले छोयो, मानिसहरु आक्रान्त बने । सरकारलाई कहिले लकडाउन नगरेकोमा गाली गरे त कहिले लकडाउन गरेकोमा । तर नेपाली जनताले आफैले खेल्नुपर्ने जुन भूमिका थियो, त्यो सबैले भुलिदिए । सबैलाई चाडबाड मनाउने रहरले छोयो ।
त्यो समयमा एक विज्ञले भन्नुभएको कुरा मेरो मानसपटलमा नाचिरहन्छ । मानिस नै नरहे चाडबाडको के महत्व अनि प्रत्येक घरमा एकजना सदस्यको देहावसान भयो भने के हुन्छ जस्ता तीतो सत्य ओकल्नुभएको थियो तर त्यस कुराको चासो न त सरकारले दियो न त जनताले नै । लकडाउन खुकुलो हुनासाथ सरकार र नेताहरु नाराबाजीको भीडमा, जनताहरु मनोरन्जन र मोजमस्तीमा व्यस्त भएको पाइयो ।
स्वास्थ्य मापदण्ड नअपनाउनाले र कोरोनालाई हल्का ढङ्गले लिनाले दोश्रो लहरले विकराल रुप लिँदैछ तर पनि अझै जनतामा होश आइसकेको छैन । जसलाई पर्छ, त्यसलाई मात्र थाहा हुन्छ, पीडा के हो भन्ने । यो दोश्रो लहरको शुरुवाती समयमा नै मैले चिनेको एक असल व्यक्ति कोरोनाका कारण अस्पतालमा अन्तिम सास लिनुभएको थाहा पाएँ । उहाँ जस्तो एक असल अनि समाजमा राम्ररी परिचित मान्छेले कोरोनालाई हल्का ढङ्गले लिईदिँदा मृत्युसैय्यामा पुग्नुपर्यो ।
कथा यति भयानक छ, कि उहाँको एउटा अस्पतालमा निधन भयो, उहाँकी श्रीमति अर्को अस्पतालमा भर्ना । उहाँकी छोरी र वृद्ध आमा घरमा आइसोलेसनमा र छोरा पशुपतिमा क्रिया गर्दै । कति पीडादायी थियो त्यो घटना ।
यो त एक प्रतिनिधि पात्र घटना मात्र हो । यी भन्दा कैयौं दुःखदायी घटना घटिसके तर हामी नेपालीमा अझै चेतना देखिएको छैन । विवाह, भोजभतेर भइरहेका छन् । मर्नेको लास जलाउने ठाउँको अभाव भइसकेको छ । तर पनि अझै हामी चेतेका छैनौं ।
भोजभतेर गर्न सक्छौं, घुम्न डुल्न खर्च गर्न सक्छौं तर, घरमा एउटा अक्सिमिटर राख्न सक्दैनौं । सामाजिक संजालमा नकारात्मक टिकाटिप्पणी गरेर बस्न सक्छौं तर विज्ञका कुरा सुनेर शेयर गर्न सक्दैनौं ।
जतिखेर पनि नकारात्मक सोचाई राखीराख्ने र कोरोनालाई केही होइन भनिरहने हो भने नेपालमा आउनसक्ने विकराल स्थिती मापन गर्न सकिने अवस्था रहन्न । तसर्थ आफै सजग बनौं, आफु पनि बचौं अरुलाई पनि बचाऔं ।
Categorized in विचार