arin enterprises

‘इलिफेन्ट्स् इन द फग’ लाई २ लाख ५० हजार नगदसहित सम्मान

SamacharDesk – बिराज | २०८३ जेठ २७, बुधबार

काठमाडौं । चलचित्र ’इलिफेन्स् इन द फग’ को निर्माण तथा कलाकार समूहलाई नगद रु. दुई लाख ५० हजारसहित सम्मान गरिएको छ ।

नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डको संयुक्त आयोजनामा बुधबार आयोजित विशेष कार्यक्रममा उक्त चलचित्रको टीमलाई सम्मान गरिएको हो ।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खगराज पौडेल ’गनेस’ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र टीमलाई उक्त सम्मान प्रदान गरे ।

नेपाली चलचित्रले विश्वमाझ नेपालको पहिचान स्थापित गर्न महत्वपूर्ण योगदान दिएको अवसरमा यो सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा संस्कृतिमन्त्री पौडेलले नेपाली चलचित्रले पछिल्ला वर्षहरूमा ठूलो फड्को मारिरहेको उल्लेख गर्दै उनले चलचित्रले देशको प्रतिष्ठा उचो बनाएको बताए ।

‘धेरैको सपना रहने अन्तर्राष्ट्रिय मञ्चमा यो चलचित्रले नेपाललाई चिनाएको छ । यस सफलताले समग्र नेपाली चलचित्र क्षेत्रलाई थप प्रेरणा दिएको छ,’ उनले भने ।

सञ्चारमन्त्री डा. तिमिल्सिनाले चलचित्र क्षेत्रको विकासका लागि आवश्यक कानुनी र नीतिगत सुधारमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।

उनले गुणस्तरीय तथा देशको आवाज बोल्ने चलचित्र निर्माणलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्षमा करिब साढे तीन करोड रुपैयाँ बजेट विनियोजन गरिएको समेत जानकारी गराए ।

सम्मान ग्रहणपछि चलचित्र निर्देशक अविनाश विक्रम शाहले सिनेमा केवल मनोरञ्जनको माध्यम मात्र नभई नेपाली कला, संस्कृति, पहिचान र कथाहरू संसारसमक्ष पुर्याउने सशक्त माध्यम भएको धारणा राखे ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले नेपाल प्राकृतिक सौन्दर्य, संस्कृति र विविधताले भरिपूर्ण चलचित्र छायांकनको उत्कृष्ट गन्तव्य भएको उल्लेख गर्दै ट्राभल ट्रेड र चलचित्र निर्माताहरूलाई पर्यटनको दृष्टिकोणबाट सिनेमालाई हेर्न आग्रह गरे ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले नेपाली चलचित्र उद्योगको भविष्यप्रति आशावादी रहेको बताउँदै वर्तमान सरकारले चलचित्र क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाएकोमा धन्यवाद व्यक्त गरे ।

५६ वर्षदेखि परिमार्जन हुन नसकेको चलचित्रसम्बन्धी कानुन निर्माणको प्रक्रिया अघि बढिरहेको उल्लेख गर्दै उनले सरकार चलचित्र क्षेत्रप्रति सकारात्मक रहेको बताए ।

हालै कान्स फिल्म फेस्टीभल जस्तो अन्तर्राष्ट्रिय मञ्चमा यस चलचित्रले प्रतिष्ठित जुरी अवार्ड प्राप्त गरेको थियो ।

चलचित्रको सफलताले नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा थप आत्मविश्वासका साथ अघि बढ्न प्रेरणा दिएको सरोकारवालाहरूको भनाइ छ ।

Categorized in पेजथ्री