‘जाँड’ असार १२ मा आउने
SamacharDesk – विजयरत्न | २०८३ जेठ २७, बुधबार
राजु शाहको निर्देशनमा निर्माण भएको चलचित्र ‘जाँड’ आगामी असार १२ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा चलचित्र ‘जाँड’को ट्रेलर सार्वजनिक गर्दै आगामी असार १२ मा चलचित्र देशभर प्रदर्शन हुने घोषणा गरिएको हो ।
ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्र निर्माण टिमले चलचित्रले समाजमा जरा गाडेर बसेका विभिन्न विकृति तथा कुसंस्कारविरुद्ध सशक्त सन्देश दिने दावी गरेको छ ।
यो चलचित्रमा मद्यपानका कारण परिवारमा उत्पन्न हुने तनाव, कलह र त्यसले समाजमा पार्ने नकारात्मक प्रभावलाई मुख्य विषयवस्तुका रूपमा प्रस्तुत गरेको छ ।
ट्रेलरले जाँड सेवन गर्ने व्यक्तिको व्यवहारले परिवारमा सिर्जना गर्ने समस्याका साथै पत्नी, छोरी र समाजले त्यस्ता व्यक्तिलाई हेर्ने दृष्टिकोणलाई यथार्थपरक ढंगले चित्रण गरेको देखिन्छ ।
चलचित्रमा सानबी खतिवडा, पदम गुरुङ, कमला दाहाल, रमेश उप्रेती, मञ्जु श्रेष्ठ, सुवास गजुरेल, रमेश अधिकारी, लक्ष्मी तिमिल्सेना, स्मारिका खनाल, किरणप्रताप केसी लगायतका कलाकारको अभिनय छ ।
सुकुलढोका मिडिया प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्रको कथा, पटकथा तथा संवाद सुनिलप्रसाद श्रेष्ठ, राजु शाह र राजेन्द्र भट्टले संयुक्त रूपमा तयार गरेका छन् ।
दिपेन बस्न्यातले छायांकन र सम्पादन गरेको चलचित्रमा संगीत रोशन बालुवाले दिएका छन् भने गीतमा स्वर पनि उनकै रहेको छ । शब्द भने श्रीपुरुष ढकालको रहेको छ ।
चलचित्रको ट्रेलर मुभिज डिजिटलटेनमेन्ट युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
Categorized in पेजथ्री




