arin enterprises

चारदिने भ्रमण सकाएर ली फिर्ता

SamacharDesk | २०७९ भाद्र ३०, बिहिबार

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा सोमबार यहाँ आउनुभएका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु भ्रमण सम्पन्न गरी आज फिर्ता हुनुभएको छ ।

सभामुख अग्नि सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लीलाई विदाइ गर्नुभयो । गत सोमबार काठमाडौं आईपुग्नुभएका लीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतसंग भेटवार्ता गर्नुभएको थियो । चार दिने नेपाल भ्रमणका क्रममा उहाँले उच्चस्तरीय विभिन्न भेटवार्ता गर्नुभएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग अध्यक्ष लीले बुधबार शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

राष्ट्रपतिको कार्यालयमा भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय आपसीहितका विविध विषयमा कुराकानी भएको थियो । भेटमा राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी तथा एकअर्काका शुभचिन्तक मुलुक रहेको धारणा व्यक्त गर्दै द्विपक्षीय र बहुपक्षीय सहयोग आदानप्रदान हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

उहाँले यसप्रकारका उच्चस्तरीय भ्रमणले दुई देशबीच रहिआएको बहुआयामिक सम्बन्ध अझ सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

अध्यक्ष ली चान्सुले विश्वमा विभिन्न प्रकारबाट राजनीतिक ध्रुवीकरण भइरहेको धारणा व्यक्त गर्दै नेपालले व्यक्त गरेको एक चीन नीतिप्रतिको प्रतिबद्धता अत्यन्तै महत्त्वपूर्ण रहेको बताउनुभयो।

उक्त प्रतिबद्धताप्रति उहाँले नेपाल सरकारप्रति आभार व्यक्त गर्नुभयो। भ्रमणका क्रममा चिनियाँ नेता ली नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनः निर्माण परियोजनाको अवलोकन र निरीक्षण तथा स्थानीय कला संस्कृतिको अवलोकन गरेको थियो ।

अध्यक्ष ली नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको थियो ।

Categorized in राष्ट्रिय