निर्देशक समाजबाट खरेललाई दीर्घ साधना सम्मान
SamacharDesk – बिजयरत्न | २०८० फाल्गुण २८, सोमबार

नेपालको चलचित्र निर्देशन क्षेत्रमा लामो समयदेखि सक्रिय निर्देशक यादव खरेललाई नेपाल चलचित्र निर्देशक समाजले दीर्घ साधना सम्मान प्रदान गरेको छ ।
समाजको १६औं वार्षिक साधारणसभाको अवसरमा आइतबार राजधानीमा आयोजित चलचित्र स्रष्टा सम्मान–२०८० समारोहमा निर्देशक खरेलसहित विभिन्न चलचित्रकर्मीलाई सम्मान गरिएको हो ।
निर्देशक खरेल भने अस्वस्थ्यताका कारण कार्यक्रममा अनुपस्थित भएपछि उनका प्रतिनिधिले सम्मानपत्र ग्रहण गरेका थिए ।
समारोहमा नेपालको पहिलो रंगीन चलचित्र ‘कुमारी’ का निर्देशक प्रेमबहादुर बस्न्यातलाई हिरासिंह खत्री स्मृति सम्मान, निर्देशक आकाश अधिकारी, दिनेश डीसी र सम्झना उप्रेती रौनियारलाई स्रष्टा सर्जक सम्मान प्रदान गरिएको थियो ।
त्यसैगरी निर्देशक रामबाबु गुरुङलाई फिल्म ‘कबड्डी–४’ बाट ‘डिरेक्टर अफ द इयर २०७९ (कमर्सियल)’ तथा सुुजीत बिडारीलाई फिल्म ‘ऐना झ्यालका पुतली’ बाट ‘डिरेक्टर अफ द इयर २०७९ (क्रिटिक)’ विधामा सम्मान गरिएको थियो ।
सम्मानित व्यक्तित्वहरुलाई नेपाली चलचित्र क्षेत्रमा महानायकको उपाधि पाएका अभिनेता राजेश हमालले सम्मान प्रदान गरेका थिए ।
अभिनेता हमालले नेपालको चलचित्र क्षेत्रका लागि आफू जहाँ जानु परे पनि जान तयार रहेको बताए ।
‘अहिले म खुल्ला छु । त्यसकारण नेपाली चलचित्रको वृत्ति विकासदेखि हरेक पक्षका लागि म तपाईंहरुसँग जहाँ जान पनि जान तयार छु,’ अभिनेता हमालले भने ।
समारोहमा विकास बोर्डका पूर्व अध्यक्ष दयाराम दाहाल, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला लगायतले मन्तव्य राखेका थिए ।
समाजका अध्यक्ष जनकदीप पराजुलीले नेपाली चलचित्रको विकासका लागि निर्देशकको योगदानको स्मरण गर्दै चलचित्र क्षेत्रको विकासका लागि सरकारी तवरबाट पनि चासो हुनुपर्ने धारणा राखे ।
समाजका उपाध्यक्ष दिपशिखा खडका र अर्का उपाध्यक्ष सुभाष गजुरेलले संस्थाका गतिविधि, उद्देश्य र यस क्षेत्रले भोग्दै आएको समस्यामा प्रकाश पार्दै आआफ्नो विचार राखेका थिए ।
Categorized in पेजथ्री