लगनमा शिलखाना नभई ऐतिहासिक वौद्ध विहार बनाउन स्थानीयको माग
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ आश्विन १४, बुधबार

काठमाडौं महानगरपालिका २१ वडा लगनटोलमा ऐतिहासिक वौद्ध विहार भत्काई थापा परिवारले बनाएको दरवार र तबेलाको ठाउँमा फेरी पनि थापाहरुकै दरवार र तबेला बनाउनुपर्ने मागको स्थानीय वासिन्दाले विरोध गरेका छन् ।
हाल शिलखाना भनेर चिनिएको सो स्थानमा प्रताप मल्लकै पालामा वौद्ध विहार रहेको र सो स्थानमा अव ऐतिहासिक वौद्ध विहारकै निर्माण हुनुपर्ने माग स्थानीय वासिन्दाले गरेका छन् ।
थापा परिवार लगायत केही व्यक्तिले शिलखाना मास्न नहुने आवाज उठाउन थालेपछि स्थानीय वासिन्दाले आक्रोश पोख्दै पुरानो ईतिहासलाई कायम राख्दै वौद्ध विहार नै बनाउन माग गरेका हुन् ।
सो स्थानमा काठमाडौं महानगरपालिकाले वौद्ध विहार र शिलखाना दुवैको ईतिहास झल्किने गरी संग्रहालयको साथमा लगं पार्क बनाउने योजना अघि सारेको थियो ।
अधिवक्ता प्रकाशमणि शर्मा, सञ्जय अधिकारी र राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानका कोषाध्यक्ष सुशीलविक्रम थापाले शिलखाना नमास्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेपछि यहाँको निर्माण कार्य रोकिएको हो ।
न्यायधीश हरिकृष्ण कार्की र पुरुषोतम भण्डारीको असोज ८ को संयुक्त इजलासले असोज १८ को पेसी तोकेको छ ।
सर्वोच्चले शिलखानाको जगलाई असर नपर्ने गरी संरचना निर्माण गरेको प्रमाणसहित उपस्थित हुन दुबै पक्षलाई उपस्थित हुन भनेको छ ।
प्रताप मल्लको पालादेखि नै अस्तित्वमा रहेको यो स्थानमा किर्तिपुण्य महाविहार लगं बहाःको कचा बहाः (शाखा विहार) को रुपमा अवस्थित थियो । तर, अहिले भीमसेन थापाको भाईको इतिहाससँग जोडेर प्रताप मल्लकालिन ऐतिहासिक महत्वलाई ओझेल पार्ने काम भैरहेको स्थानीयहरुको गुनासो छ ।
भीमसेन थापाका भाई रणवीरसिंह थापा (स्वामी अभयानन्द) को घरको मात्रै इतिहास उल्लेख गरी मल्लकालिन इतिहासलाई तोडमोड गर्ने काम भैरहेको स्थानीयको आरोप छ ।
अहिले पनि त्यस स्थानमा ऐतिहासिक विहारका बौद्ध चैत्यका साथै विहारसँग सम्बन्धित अन्य मुर्ति र शिलापत्रसहितका भग्नावशेषहरु रहेका छन् ।
यहाँ काठमाडौँ महानगरपालिकाले पार्क निर्माण गर्ने जानकारी पाएपछि स्थानीय वासिन्दाहरुले २०७६ साल जेठमा काठमाडौँ महानगरपालिका सहरी योजना आयोगमा सो स्थानमा बौद्ध विहार नै पुर्ननिर्माण गर्न माग गर्दै निवेदन दिएका थिए ।
काठमाडौँ माहानगरपालिकाले ऐतिहासिक र पुरात्वात्तिक महत्वलाई जिवित राख्दै पार्क निर्माण गर्न पटक–पटक छलफल गरेपछि आफूहरु सकारात्मक भएको स्थानीयको भनाइ छ ।
घना बस्तीबीच खुला ठाउँ पनि निकै कम रहेको अवस्थामा सर्वसाधारणलाई स्वच्छ हावा लिन पार्क निर्माण गर्ने कुरामा हाम्रो समर्थन छ,’ स्थानीय रिपक शाक्यले भने । ‘तर, इतिहास नै मासेर संरचना निर्माण गर्ने काम हुन्छ भने कानुनी लडाईँको बाटो खोज्न बाध्य हुनेछौँ ।’
लामो समय प्रधानमन्त्री बनेका भिमसेन थापाले उक्त विहारमा बासोबास गर्ने लगं बहाःका शाक्य परिवारलाई त्यहाँ भन्दा अलिक पर ध्वाखासी नाय्पाच्व भन्ने ठाउँमा स्थानान्तरण गरेर सो स्थान अतिक्रमण गरेर घर र तबेला बनाएको इतिहास रहेको पनि शाक्यले स्मरण गराउनुभयो ।
अहिले भवनमा रहेको विश्वरुपको भित्तेचित्रमा उल्लेखित मिति अनुसार यो संरचना वि.सं. १८७६ मा निर्माण भएको देखिन्छ ।
पछिल्लो समय शिलखानाका रुपमा प्रयोग हुँदै आएको उक्त भवन २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको थियो ।
प्रस्तावित लगं पार्क क्षेत्रमा प्रताप मल्लको पालामा नै बौद्ध विहार अस्तित्वमा रहेको र उक्त क्षेत्रमा प्रताप मल्लका छोराहरु नृपेन्द्र मल्ल र चक्रपतेन्द्र मल्लका पालाका शिलालेखहरु तथा चैत्यहरु अहिलेसम्म रहेको स्थानीयले भनेका छन् ।
२०७७ साल माघ मसान्तासम्ममा सम्पन्न गर्ने गरी कंडेल, के.एण्ड केजी, रमिता जे.भीले पार्क निर्माणको जिम्मा पाएको छ । यो पार्कको करीब ४ करोड लागत अनुमान गरिएको छ ।
Categorized in समाज