arin enterprises

हराएका मोटरसाइकल फेला पारी प्रहरीबाट सवारी धनीलाई हस्तान्तरण

SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०८१ माघ २८, सोमबार

हराएका २० ओटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले सम्वन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ ।

विभिन्न मितिमा हराएका १२ ओटा मोटरसाइकल र ८ ओटा स्कुटर ट्राफिक प्रहरीले आज (सोमबार) सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक विनोद घिमिरेले सवारी साधनहरु सम्वन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा ती सवारी साधनहरु हरु फेला परेको ट्राफिक प्रहरीले बताएको छ ।

काठमाडौँको पेप्सीकोला, काँडाघारी, फर्पिङ, कालिमाटी, लैनचौर, गौशाला, धर्मस्थली, नयाँबसपार्क र बौद्ध लगायतका स्थानबाट केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा उक्त सवारी साधनहरु ट्राफिक प्रहरीले फेला पारेको थियो ।

आज बुझाइएका २० ओटा सहित साउन महिनादेखी आजसम्म ३०३ ओटा सवारी साधन ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ ।

त्यस्तै चोरीका ३३ ओटा दुई पांग्रे सवारी साधनसहित चोरीमा संलग्न ४८ जना व्यक्तिहरूलाई पनि आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।

आर्थिक वर्ष २०७९/०८० मा ४९९ ओटा र ०८०/०८१ मा ४१७ ओटा दुई पांग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको थियो ।

सवारी साधन चोरी नियन्त्रण गर्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्न, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक लगायत सुरक्षा साइरनहरु जडान गर्न, अँध्यारो र एकान्त ठाउँमा पार्किङ नगर्न प्रहरी बरिष्ठ उपरिक्षक घिमिरेले आग्रह गरेका छन् ।

साथमा आफ्नो सवारी साधनमा जिपिएस ट्र्याकर जडान गर्न पनि घिमिरेले आग्रह गरेका छन् ।

Categorized in समाज