राष्ट्रियसभा निर्वाचनका लागि १२ दल दर्ता
SamacharDesk | २०८० मङ्सिर २९, शुक्रबार

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा भाग लिन १२ वटा राजनीतिक दलहरुले निर्वाचन आयोगमा दल दर्ता गराएका छन् ।
निर्वाचन आयोगमा दर्ता भएका १ सय १९ दलमध्ये १२ वटा दलले मात्रै यस निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएका हुन ।
आयोगका अनुसार मंसिर २४ देखि २९ गतेसम्म दर्ता भएका दलले मात्रै राष्ट्रियसभा सदस्य निर्वाचनमा भागलिन पाउने छन् ।
सोही अनुरुप निर्धारित समयमा दर्ता भएका दलहरुमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी, नेपाल मज्दूर किसान पार्टी, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टीले दल दर्ता गरेको आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले जानकारी दिनुभयो ।
निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दललाई पुस १ गते निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका रहेको छ ।
आयोगले पुस १६ गते निर्वाचन अधिकृत नियुक्त गर्ने र पुस २० देखि २९ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि फागुन २० गते पूरा हुने भएकाले रिक्त हुने सिटका लागि निर्वाचन हुन लागेको हो ।
२० मध्ये १९ जना निर्वाचनबाट र एकजना राष्ट्रपतिबाट चयन हुने व्यवस्था रहेको छ ।
Categorized in राजनीति