मध्यरातमा लुति अजिमालाई सर्पाहुति
SamacharDesk – राम डंगोल | २०८१ मङ्सिर १५, शनिबार

बालाचह्रे (बालाचर्तुदर्शी) को अवसरमा काठमाडौंको इन्द्रायणीमा गएराती लुति अजिमालाई सर्पाहुती यज्ञ गरेर तान्त्रिक पुजा गरिएको छ ।
मंसीर कृष्ण त्रयोदशीको रात मन्दिर अगाडीको होमकुण्डमा एक जोडी सर्प, एक जोडी भंगेरा, एक जोडी फट्यांग्रा होम गरेर लुति अजिमाको तान्त्रिक रुपमा गोप्य पूजा गर्ने गरिन्छ ।
साथै एक एक जोडी सर्प, भंगेरा र फटयांग्रा छाड्ने पनि गरिन्छ । यज्ञमा ३२ थरीका अन्न, गेडागुडी र पिठोको पनि होम गरियो । आहुतिका लागि ल्याइएका यी सर्प, परेवा, माछा र फट्यांग्राका जोडीहरु मध्ये एउटालाई आकाशतिर फालेर अर्कोलाई जग्गेको आगोमा होम गरिएको थियो ।
होमको लागि चाहिने यी जीवहरू इन्द्रायणी मन्दिर परिसर भित्रबाटै टिप्नुपर्ने परम्परा पहिले थियो । तर अहिले मन्दिर परिसरमा जीवहरु पाउन कठिन भएकोले अन्य ठाउँबाट ल्याइएको थियो । यज्ञको क्रममा अन्तिममा बलि दिइसकेर पुनः प्राण भरिएको राँगाको टाउको पनि यसै यज्ञमा होमियो ।
दुर्लभ किसिमको मानिएको यस किसिमको यज्ञ हेर्न ठुलै संख्यामा भीड लाग्ने गर्दछ । मध्यरातमा गुप्त पूजापछि मन्दिरको गर्भगृहमा रहेको अजिमाको मूर्ति खटमा राखेर जात्रा निकालिन्छ ।
आज भने बलि दिएको सुँगुरको मासु हालेर बालबच्चाहरुलाई ‘मरह जा’ अर्थात ८४ व्यन्जन सहितको तान्त्रिक साधना गराई खुवाउने गरिन्छ । यसरी तान्त्रिक भात खुवाउनाले बालबच्चा निरोगी हुने जनविश्वास रहेको छ ।
त्यस्तै, औंसिको दिन न्हि जात्रा भनी देवीको खटलाई दिनभर नगर परिक्रमा गराइन्छ । यस जात्रामा काठमाडौं ढल्कोस्थित इन्द्रायणी ९लुँति अजिमा० सहित उनको सन्तान मानिने स्वाँछपु गणेश, भुँडी गणेश, ज्वालामाई, मांखचा (मचाखाचा), शोभा भगवती गरि ६ वटा खटको जात्रा गर्ने गरिन्छ ।
साँझमा छ वटै खटलाई लस्करै राखेर फर्काइन्छ भने विधिवत पूजाआजा गर्दै आ–आफ्नो द्यःछेँमा भित्र्याउने परम्परा रहेको छ । यो जात्रालाई इन्द्रायणी देवी लुँति अजिमाले आफ्नो बालबच्चालाई मात्र भोजको निम्तो बोलाएको रुपमा लिइन्छ ।
किम्वदन्ती अनुसार इन्द्रायणी देवी गरीब थिइन् र उनको बालबच्चा पनि धेरै भएकोले आफ्नै दिदिबहिनी र माइतीबाट अपहेलित थिइन् ।
एकदिन माइतीमा सबै दिदिबहिनी जमघट गर्ने भनी भोज बोलाइन्छ तर इन्द्रायणी देवीलाई भने गरीव भएकै कारणले भोलिपल्ट मात्र बोलाइयो । भोज सकिसकेको घरमा इन्द्रायणीलाई सुख्खा, कडा रोटी खान दिइयो ।
आफ्नै माइतीमा आफ्नै आमाबाटै अपमानित भएकी उनी रोएर फर्किन्छिन् । बाटोमा रुँदै जाँदै गर्दा आफ्नो बच्चाहरुले जता धेरै दुःख दिए त्यतै छोडेर हिँडिछन् । जाँदाजाँदै बाटोमा एक वृद्ध भेटेछन् र किन रोएकी भनेर सोधेपछि इन्द्रायणीले आफुलाई भएको अपमान सबै बेलिविस्तार लगाए । सबै कुरा सुनेर आफ्ना बच्चाहरुलाई ख्वाउनु भनी एउटा फर्सी दिए ।
त्यही फर्सी पकाउँदा उनी त्यतै निदाए र भोलिपल्ट बिहान हेर्दा उक्त फर्सी सुनमा परिणत भएको देखिन् । त्यसै सुनबाट उनी धनी भए । त्यसपछि आफ्ना दिदिबहिनीले देखावटी माया गरेकोले अबबाट तिमीहरु मलाई भेट्न नआउनु र म पनि आउँदिन भनेर फर्किएको र आफ्नै छुट्टै जात्रा चलाइएको भन्ने कथन समाजमा प्रचलित छ ।
सोहि कारण सबै दिदिबहिनीको भेटघाट भनी पिशाच चर्तुदशी (पाहांचःर्हे) को समयमा जात्रा गरिन्छ । तर इन्द्रायणी (लुँति अजिमा) को भने बाला चतुर्दशीको बेला छुट्टै जात्रा गरिन्छ ।
ढोका बन्द गर्न जाने भन्ने परम्परालाई आफ्नो दिदिबहिनी कोहि नआओस् भनी आफ्नो बालबच्चाहरु मात्र बोलाई गोप्य रुपमा भोज ख्वाएको भन्ने मान्यता रहेको छ ।
Categorized in संस्कृति