arin enterprises

सीमित उपस्थितीमा मच्छिन्द्रनाथलाई रथमा विराजमान गराइयो

SamacharDesk – बिराज | २०७८ बैशाख २९, बुधबार

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई आज रथारोहण गराइएको छ । नेपालकै सबैभन्दा लामो रथजात्राको रुपमा लिइने रातो मच्छिन्द्रनाथको जात्राको क्रममा आज मच्छिन्द्रनाथलाई रथमा विराजमान गराइएको हो ।

वैसाख शुक्ल प्रतिपदाका दिन देउतालाई रथमा विराजमान गराउनुपर्ने परम्परा अनुसार आज मच्छिन्द्रनाथलाई रथमा विराजमान गराइएको हो ।

मच्छिन्द्रनाथलाई ललितपुरको तःबहालबाट सानो खटमा बोकेर बाजागाजासहित धुमधामका साथ पूल्चोकमा पुर्‍याई रथमा विराजमान गराइन्छ ।

तर यस वर्ष भने कोरोना संक्रमणको जोखिमका कारण सीमित मानिसहरु मात्र उपस्थिती मात्र गराई परम्परा सम्पन्न गरिएको हो ।

वैसाख कृष्ण प्रतिपदाका दिन लगनखेलमा रातो मच्छिन्द्रनाथको महास्नान हुने गर्दछ भने सोही दिन राती रथ बनाउने बाराहीले पूल्चोकमा रथ बनाउने स्थानमा रथको किल्ला ठोकेर (की तायेगु) रथ बनाउने काम शुरु गर्छन् ।

त्यसपछि आजकै दिन अर्थात बैसाख शुक्ल प्रतिपदामा रथकाे टुप्पाेमा धकि बाय्‌म्वः आदि राख्ने काम सम्पन्न गरेर मच्छिन्द्रनाथलाई रथमा विराजमान गराइन्छ ।

देवतालाई रथमा विराजमान गराइसकेपछि घःकूहरुबाट बलिसहित भैरवको पूजा सम्पन्न गरेका थिए । रातो मच्छिन्द्रनाथलाई कामारुकामाक्षबाट नेपाल ल्याउँदा मच्छिन्द्रनाथलाई बोक्ने चार भैरवहरुको प्रतिकको रुपमा पांग्राको पूजा गर्ने गरिन्छ ।

मच्छिन्द्रनाथलाई रथमा विराजमान गराइएको चौथो दिनमा रथ तान्नुपर्ने परम्परा रहेको छ । तर यस वर्ष भने कोरोना महामारीका कारण प्रतिकात्मक रुपमा रथ तानेर जात्रा सम्पन्न गर्ने बताएको छ ।

रातो मच्छिन्द्रनाथको रथ जात्रा विना कुनै वाधा अवरोध सफलतापूर्वक सम्पन्न भए समयमै वर्षा भइ खेतमा अन्नबाली राम्रो हुने जनविश्वास समाजमा रहि आएको छ ।

मच्छिन्द्रनाथलाई बज्रयानी बौद्ध धर्माबलम्बीहरु आर्यावलोकितेश्वर, नाथ अनुयायीहरुले मच्छिन्द्रनाथ, सूर्यका उपासकले सूर्यदेव, शाक्तहरुले शक्ति र वैष्णवहरुले विरिंची नारायणको रुपमा पुज्दै आएका छन् । 

याे पनि पढ्नुहाेला : राताे मच्छिन्द्रनाथकाे रथयात्रा प्रतीकात्मक रूपमा गरिने

Categorized in संस्कृति