आर्याअवलोकितेश्वरको महास्नान सम्पन्न
SamacharDesk – राम डंगोल | २०८१ पौष २३, मंगलबार

काठमाडौंको केलटोलमा मंगलबार आर्याअवलोकितेश्वर अर्थात् सेतो मच्छिन्द्रनाथको महास्नान सम्पन्न भएको छ ।
आज पौष शुक्ल अष्टमीका दिन काठमाडौंको जनबहालमा विधिपूर्वक सेतो मछिन्द्रनाथको महास्नान सम्पन्न गरिएको हो । सेतो मच्छिन्द्रनाथ र करुणामयको नामले पनि प्रसिद्ध आर्याअवलोकितेश्वरको मूर्तिलाई आज जनबहाल मन्दिरको प्राङ्गणको न्हवं दबूँ अर्थात् महास्नान गराउने मण्डपमा विराजमान गराइ विधिवत् रूपमा पूजा अर्चना गरेर महास्नान गराइएको हो ।
जिवित देवी कुमारीको उपस्थितिमा मूर्तिमा पञ्चामृत, दूध र तीर्थबाट ल्याएको तातो जलले अभिषेक गराउने गरिन्छ । महास्नान अघि मूल पुजारीले पूर्व–पश्चिम, उत्तर–दक्षिण, अग्नि, नैऋत्य, वायु, इशान, तल र माथि रहेका देवताको पूजा समेत गर्ने चलन छ ।
श्री कुमारीबाट दर्शनपछि महास्नानको जल भक्तजनहरुलाई वितरण गर्ने गरिन्छ । सेतो मच्छिन्द्रनाथको महास्नानको यस परम्परालाई स्थानीय भाषामा ‘धलिं लुइगु’ भन्ने गरिन्छ ।
स्थानीय नेवार भाषामा दहिलाई ‘धौ’ भनिन्छ भने धलिं लुइगु भनेको दहिले नुहाइदिनु हो । सेतो मच्छिन्द्रनाथको महास्नानको लागि काठमाडौंको भचाखुसि नदीबाट पवित्र जल ल्याइन्छ र सोही जलमा दुध, दहि आदि समेत राखेर पंचामृतले स्नान गराइन्छ ।
यो विधि सम्पन्न भएसँगै सेतो मच्छिन्द्रनाथलाई पुरुष र महिलालाई दुवैको जन्मदेखि गरिने सम्पूर्ण दशकर्म पनि गर्ने गरिन्छ । यसपछि भने जनबहालमा मछिन्द्रनाथको ‘लंपू छायेगु’ सुरु हुन्छ ।
‘लंपू छायेगु’ भनी मछिन्द्रनाथको मूर्तिमा आवश्यक मर्मत गरी रंगरोगन इत्यादि पनि गरिन्छ । सो कार्यक्र भोलीदेखि मूर्तिलाई घाममा राखेर मर्मत र रंगरोगन गर्ने गरिन्छ । महास्नानसँगै सेतो मच्छिन्द्रनाथको रथजात्राको तयारी औपचारिक रुपमा सुरु भएको मानिन्छ ।
वर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथलाई नाथ सम्प्रदायीले शिव, बौद्ध धर्माबलम्वीहरुले आर्याअवलोकितेश्वर, स्थानीय नेवार समाजले जनबहाःद्यःको साथमा करुणामय र विभिन्न नामले पुकार्ने गरिन्छ ।
Categorized in संस्कृति