याकः मिसालाई प्रसाद लैजान बाटो खुल्यो
SamacharDesk – Ram Dangol | २०८० बैशाख २५, सोमबार

अन्ततः ललितपुरका ह्यगृब भैरवनाथ र ३२ पानेजु (पुजारी) संघलाई कीर्तिपुरको प्यंगःथामा याकः मिसालाई प्रसाद लग्ने कार्यको लागि बाटो खुलेको छ ।
हिजो कीर्तिपुर नगरपालिकाको उपमहेश्वर फेदी प्यंगःथामा सुखी गँछेः समाजले स्थापना गरेको रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति र याकःमिसाको मूर्ति स्थानीयले हटाएपछि महिनौं अगाडिदेखिको विवाद टुंगिएको छ ।
आइतबार कीर्तिपुरका स्थानीयले सुखी गँछेः समाजलाई हस्तक्षेप गरेर याकःमिसाको मूर्ति र रातो मच्छिन्द्रनाथको हटाएका हुन् । स्थानीय युवाहरुले जनप्रतिनिधि, नेपाल प्रहरी, नगर प्रहरीसहितको उपस्थितिमा मूर्ति हटाएका हुन् ।
कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले मूर्ति स्थापनाले ललितपुरसँग विवाद आउने र मेलालाई नै असर पर्ने भएपछि स्थानीयबासीले हटाएको बताएका छन् ।
मूर्ति सो स्थानबाट हटाएर नगरपालिकामा सुरक्षित रुपमा राखेको छ । समाजले १५ मंसिरमा मच्छिन्द्रनाथको प्रतिमूर्ति र याकःमिसाको मूर्ति स्थापना गरेपछि मच्छिन्द्रनाथका पुजारीहरुले विरोध गर्दै आइरहेका थिए ।
विवाद बढ्दै गएपछि विरोधमा ह्यगृब भैरवनाथ र ३२ पानेजु (पुजारी) संघले लिखित असहमति जनाउँदै कीर्तिपुरमा प्रसाद नै नलैजाने चेतावनी समेत दिएका थिए ।
याकः मिसालाई प्रसाद दिनका लागि मच्छिन्द्रनाथको जात्रा अगाडि मंगलबजारको सोह्रखुट्टे पाटीमा बसी साइत हेर्ने गर्दछ । त्यहाँबाट निस्केको साइतको ४ दिन अगाडि करुणामयको प्रतिनिधिस्वरुप जल पानेजुले नाङ्गो खुट्टाले हिँडेर कीर्तिपुरमा रहेको याकःमिसालाई प्रसाद ग्रहण गराउनुपर्ने परम्परा छ ।
मूर्ति स्थापना गरेलगत्तै ह्यगृब भैरवनाथ र ३२ पानेजु ९पुजारी० संघले १९ मंसिरमा असहमति जनाउँदै विज्ञप्ति निकालेर विरोध जनाएका थिए । संघले २१ मंसिरमा गुठी संस्थानको कार्यालयमा ध्यानाकर्षण पत्र पनि बुझाएको थियो ।
विरोधका बाबजुद कीर्तिपुरले बेवास्ता गरेपछि ३ पुसमा अर्को विज्ञप्ति निकाल्दै संघले मच्छिन्द्रनाथको प्रतिमूर्ति र याकःमिसाको मूर्ति नहटेसम्म प्रसाद ग्रहण नगर्ने चेतावनी दिएको थियो ।
गत १५ मंसिरमा मच्छिन्द्रनाथको प्रतिमूर्ति र याकःमिसाको मूर्ति स्थापना गरेपछि भएको विवाद बढ्दै गएपछि पटक पटक वार्ता पनि भएको थियो ।
मच्छिन्द्रनाथको जात्रा सुरु हुनु अगावैदेखि ललितपुर महानगरपालिकाको संयोजकत्वमा कीर्तिपुर उपमहानगरपालिका र ह्यगृब भैरवनाथ र ३२ पानेजुहरुसँगको छलफल भए पनि टुंगोमा पुग्न सकेको छैन ।
छलफलमा मूर्ति हटाउने सहमति भएपछि सुखी गछेँ समाजले हटाउन नमानेपछि अन्ततः स्थानीयहरुले नै उक्त मूर्ति हटाएपछि पानेजुहरुलाई प्रसाद दिन आउन सहज भएको छ ।
जसबाट करिब १६०० वर्ष अघिदेखिको इतिहास जोगिएको छ ।
Categorized in संस्कृति