आज माघे संक्रान्ति पर्व मनाईंदै
SamacharDesk | २०७९ माघ १, आइतबार

आज माघे सक्रान्ति पर्व । सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति भनिन्छ ।
आजबाट उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जाने मान्यता रहेको छ । आजको दिन बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।
आज देवघाट, त्रिशुली, कालीगण्डकी, बागमती, इन्द्रावती, त्रिवेणीलगायतका ठाउँ तथा नदीनालामा माघ स्नान गर्न भक्तजनहरुको घुँइचो लाग्दछ ।
धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्र उल्लेख गरेको पाइन्छ । त्यसैले आज घिउ, चाकु, तरुल, सखरखण्ड एवम् खिचडी खाने गरिन्छ । तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ ।
यी खानाले त्रिदोष नाश हुने आयुर्वेदका चिकित्सकको भनाइ छ । थारु, मगर र किराँत समुदायहरु भने आज दिनलाई नयाँ वर्षका रुपमा मनाउने गरिन्छ ।
उनीहरु आजको दिन स्नान, दान एवं खानपिन गरेर माघी पर्व मनाउँछन् । माघ १ लाई ‘नहान’ अर्थात् नुहाउने पर्वका रूपमा पनि तराईवासीहरु मनाउने गर्छन् । वर्षभर नुहाउने वातावरण नमिल्ने राईवासीले पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् ।
आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ ।
Categorized in राष्ट्रिय