arin enterprises

माघे संक्रान्ति मनाइयो

SamacharDesk – Ram Dangol | २०८१ माघ १, मंगलबार

आज माघे सक्रान्ति । विभिन्न जातजातिले आ–आप्mनो तरिकाले धूमधामका साथ माघे संक्रान्ति मनाएका छन् ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ । आजैदेखि सूर्य उत्तरायण हुने र दिन लामो तथा रात छोटो हुदै जाने गर्दछ ।

सूर्य उत्तरायण सुरु हुने दिन भएकाले आजको दिन विभिन्न तीर्थहरु पुगेर स्नान गर्ने तथा दान दक्षिणा गर्ने गरिन्छ । देवघाट, त्रिशूली, कालीगण्डकी, बाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनहरुको दिनभर घुइँचो लाग्यो ।

मध्य तराईमा भने आजको दिनलाई नुहाउने पर्वको रूपमा मनाउने गरिन्छ । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने जनविश्वास छ ।

माघे संक्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन पनि छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने यस पर्वमा तातो परिकार खाने गरिएको हो ।

थारू समुदायले धुमधामसंग माघी पर्व मनाए । आजदेखि नयाँ वर्ष शुरु हुने मान्यताका आधारमा थारु समुदायले यो पर्वलाई धुमधामसाथ मनाउने गर्दछन् । नेपालका थारु बाहुल क्षेत्रमा केही दिन अघिदेखि नै माघीको रौनक शुरु भएको थियो ।

त्यस्तै मगर समुदायले पनि माघे संक्रान्ति पर्व धुमधामका साथ मनाएका छन् । मगर समुदायले पनि आफ्नो मूख्य चाडको रुपमा माघे सक्रान्ति पर्व मनाउने गर्दछन् ।

गण्डकी तथा लुम्बिनी प्रदेशका मगर बाहुल्य क्षेत्रमा मगर समुदायले यो पर्व धुमधामसाथ मनाए् । यता, काठमाडौंको टुँडिखेलमा पनि मगर समुदायले माघे सक्रान्तिको अवसरमा विशेष कार्यक्रम आयोजना गरी माघे संक्रान्ति मनाएका छन् ।

Categorized in संस्कृति