माघे संक्रान्ति मनाईंदै
SamacharDesk | २०८० माघ १, सोमबार

प्रत्येक वर्ष सौरमास अनुसार माघ महिनाको पहिलो दिन माघे संक्रान्ति पर्व आज देशभर मनाईंदैछ ।
सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति भनिन्छ । आजको दिन स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ ।
माघे सङ्क्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । ती ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ ।
आज घिउ, चाकु, तरुल, सखरखण्ड एवम् खिचडी खाने गरिन्छ । तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ । यी परिकारले जाडोमा न्यानो दिने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो ।
थारु, मगर र किराँत समुदायले आज नयाँ वर्षका रुपमा स्नान, दान एवं खानपिन गरेर माघी पर्व मनाउदैछन् । थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा मनाउने गर्दछन् । तराईका जिल्लामा माघे सक्रान्तिलाई तिलुवा सक्रान्तिको रुपमा मनाउने गरिन्छ ।
सूर्य उत्तरायण हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ ।
तराईवासीले माघ १ गतेलाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । सो दिन बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।
माघे सङ्क्रान्तिमा दिन घ्यु, चाकु, तिलका लड्डु, खिचडी, सखरखण्ड, तरुललगायतका परिकार पनि खाने चलन छ ।
मकर सङ्क्रान्तिमा शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ ।
शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ ।
माघे सङ्क्रान्ति अर्थात् माघी पर्वको अवसरमा सरकारले सोमबार देशभर सार्वजनिक बिदा दिएको छ ।
Categorized in राष्ट्रिय