‘महाभारत’का भीम प्रवीण कुमारको निधन
SamacharDesk – समाचारडेस्क | २०७८ माघ २५, मंगलबार

बीआर चोपडा निर्देशित ’महाभारत’ शृंखलामा भीमको भूमिका निर्वाह गरेका भारतीय कलाकार प्रवीण कुमार सोब्तीको ७४ वर्षको उमेरमा निधन भएको छ ।
सोमबार राति हृदयाघातको कारण दिल्लीस्थित आफ्नै घरमा उनको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
उनले ५० भन्दा बढी बलिउड फिल्ममा काम गरिसकेका छन् । अमिताभ बच्चनको फिल्म शहन्शाह, धर्मेन्द्रको लोहालगायत फिल्ममा उनको भूमिका देख्न सकिन्छ ।
अभिनयसँगै प्रवीण खेलकुदमा पनि सक्रिय थिए । उनी ह्यामर र डिसकस फ्याँक्ने खेल खेल्थे । सन् १९६८ मा उनले भारतलाई प्रतिनिधित्व गर्दै मेक्सिकोमा र सन् १९७२ मा म्युनिख ओलम्पिक्समा सहभागिता जनाएका थिए । उनले चारपटक एसियाली खेलकुदमा देशका लागि पदक जितेका थिए ।
प्रवीणले सन् २०१३ मा दिल्ली संसद् चुनावमा आमआदमी पार्टीका तर्फबाट लडेका पनि थिए ।
Categorized in पेजथ्री