२९औं महानगर दिवस भव्यताका साथ मनाइयो
SamacharDesk – समाचारडेस्क | २०८० मङ्सिर २९, शुक्रबार

काठमाडौं महानगरपालिकाले २९औं महानगर दिवस मनाएको छ ।
शुक्रबार काठमाडौंको टुँडिखेलमा एक समारोहको आयोजना गरी महानगर दिवस मनाइएको हो । हरेक वर्ष मङ्सिर २९ गतेका दिन महानगरले महानगर दिवसको रुपमा मनाउँदै आएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले स्थानीय तहको जग अझ मजबुत बनाउन नीतिगत सुधारको आवश्यक रहेको बताउनुभएको छ ।
उहाँले सरकारले स्थानीय तहमा वित्तीय हस्तान्तरणको विषयलाई अझ प्रभावकारी बनाइ स्थानीय तहलाई संविधानको मर्म र भावनाअनुरुप श्रोत साधनको व्यवस्था र स्थानीय सरकारको मान्यताअनुसार अधिकार सम्पन्न तुल्याउत थप प्रभावकारी काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।
उहाँले संविधानले परिलक्षित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन संघीय कानूनहरुको निर्माण आफ्नो पहिलो प्राथमिकताको विषय भएको बताउनु भयो ।
उहाँले संघीय कानूनको निर्माण र व्यवस्थित कार्यान्वयनबाट मात्रै वर्तमान प्रणालीलाई थप सुदृढ र जनताको हितमा प्रयोग गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले काठमाडौं उपत्यकाको फोहोर दीर्घकालीन व्यवस्थापन गर्नका लागि आवश्यक सहयोग गर्न प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको छ ।
उहाँले काठमाडौं उपत्यकाको फोहोरको दिगो व्यवस्थापनका लागि महानगरपालिका, प्रदेश सरकार र संघीय सरकारको भुमिका उत्तिकै रहेकाले सबैले सहयोग गरिदिन आग्रह गर्नुभयो ।
उहाँले अबको साढे तीन वर्षभित्र फोहोरको समस्या समाधान हुनेमा आफू आशावादी रहेको बताउनु भयो ।
त्यस्तै काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरले ल्याएका १० गौरव र २५ स्वर्णिम योजनाहरु सम्पन्न भएसँगै संघीय राजधानीको मुहार फेरिने दाबी गर्नुभएको छ ।
उपप्रमुख डंगोलले काठमाडौं महानगरपालिकाले वृहत्तर विकास गर्ने उद्देश्यले चालु आर्थिक वर्षमा हामीले नीति कार्यक्रम र बजेट सोही अनुसार बनाएको बताउनु भयो ।
उहाँले नियमित रुपमा सञ्चालन हुने दैनिक प्रशासनिक काम मात्र नभइ नयाँ कामको पनि थालनी गरिरहेको बताउनु भयो ।
उहाँले हरेक सेवाग्राहीको न्यायमा सहज र सरल ढंगले पहुँच पु¥याउन निःशुल्क कानूनी सेवा उपलब्ध गराएको पनि बताउनु भयो । उहाँले महानगरका कामबाट महान्गरवासी खुशी भएको अनुभुति गरेको बताउनु भयो ।
कार्यक्रममा महानगरमा भएको दमकल, गाडी, सरसफाइ गर्ने मेसिन तथा विभिन्न सांस्कृतिक झाँकी र्यालीको पनि प्रदर्शन गरिनुका साथै विभिन्न व्यक्तिलाई सम्मान गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री प्रचण्डसहित सांसद, महानगर प्रमुख, उपप्रमुख, प्रधानसेनापति, प्रहरी, खेलाडीलगायत सर्वसाधारणको उपस्थिति थियो।
Categorized in स्थानीय