काठमाडौँ महानगरपालिकाले २६ अर्बको बजेट प्रस्तुत
SamacharDesk | २०८१ आषाढ १२, मंगलबार
काठमाडौं महानगरपालिकाले सोमबार झण्डै २६ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आर्थिक वर्ष २०८१/८२ का लागि सोमवार नगरसभा वैठकमा २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँ बराबरको बजेट पेश गरिएको हो ।
काठमाडौं महानगरपालिकाले बजेट पेश गर्नुअघि नीति तथा कार्यक्रम पारित गरिएको थियो । महानगरको बजेटमा ३० वटा स्वर्णिम योजना घोषणा गरिएको छ । यसका लागि २ अर्ब बजेट विनियोजन गरिएको छ । यस्तै ११ वटा गौरवका योजना अघि सार्दै ३ अर्ब बजेट छुट्याइएको छ ।
बजेटमा महानगरको सञ्चित कोषमा २४ अर्ब २० करोड ६३ लाख जम्मा हुने र जग्गा एकीकरणबाट १ अर्ब ५० करोड आम्दानी हुने लक्ष्य राखिएको छ ।
महानगरपालिकाले आगामी आवको स्रोतको लागि स्थानीय सञ्चित कोषमा आर्थिक विकासमा १९ करोड ९ लाख रुपैयाँ खर्च हुने गरी विनियोजन गरेको छ ।
कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा ३ अर्ब ४९ करोड ४५ लाख विनियोजन भएको छ ।
पूर्वाधार विकासमा १४ अर्ब ८१ करोड, सामाजिक विकासतर्फ ३ अर्ब ८१ करोड, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रको लागि १ अर्ब ८९ करोड बजेट विनियोजन भएको छ ।
महानगरले आन्तरिक स्रोतबाट १९ अर्ब १५ करोड ६६ लाख रुपैयाँ उठाउने लक्ष्य राखेको छ । यस्तै राजस्वको स्रोतमा महानगरले शसर्त अनुदान संघबाट १ अर्ब ४५ करोड र प्रदेश सरकारबाट ४ करोड ४७ लाख अनुमान गरेको छ ।
संघीय राजस्व बाँडफाँडबाट १ अर्ब ९९ करोड प्रदेशको राजस्व बाँडफाँड ५५ करोड राजश्व अनुमान महानगरले गरेको छ ।
स्थानीय राजस्व बाँडफाँडबाट १० करोड र समानीकरण अनुदानतर्फ संघबाट ८० तथा प्रदेशबाट १० करोड रुपैयाँ आउने उल्लेख गरिएको छ ।
Categorized in स्थानीय