arin enterprises

माधव नारायण व्रतलाई अन्य नाम नदिन मूल पूजारीको आग्रह (भिडियो सहित)

SamacharDesk – बिराज | २०७९ पौष २१, बिहिबार

साँखुको ऐतिहासिक माधव नारायण व्रतका मूल पूजारी सुदन राजोपाध्यायले यस व्रतलाई स्वस्थानी व्रत भन्न नहुने बताएका छन् ।

माधव नारायण व्रतको पूर्व सन्ध्यामा समाचारडेस्कसँग कुरा गर्दै मूल पूजारी राजोपाध्यायले यस व्रतको नाम माधव नारायण व्रत नै रहेको भन्दै अन्य नामबाट यसलाई प्रचार नगर्न पत्रकार र संचारमाध्यमलाई आग्रह गरे ।

माधव नारायणको व्रत बसे मात्रै स्वस्थानी व्रतको फल पाइने राजोपाध्यायको भनाई छ ।

‘माता पार्वतीले पनि शिव पति पाउँ भनी नारायणको व्रत बस्दा व्रत सिकाउने नारायणलाई गुरु पूजा गरिनछन् । त्यसैले शिव पति पाउनुभएन । पछि नारायणलाई गुरु मानेर व्रत पूजा गरेर गुरु दक्षिणा दिएपछि मात्र महादेव पति पाइन्’, राजोपाध्यायले भने, ‘त्यहि रुपमा अहिले पनि हामीले नारायणलाई साक्षी राखेर व्रत पूजा गर्ने हो ।’

यो व्रतमा सम्भवतः नेपालकै पुरानो नेपालभाषामा लेखिएको हस्तलिखित स्वस्थानी व्रत कथाको किताब राखेर पूजा गर्ने र व्रत बस्नेले सो कथा श्रवण गर्ने प्रचलन रहेको जानकारी पनि राजोपाध्यायले दिए ।

सो स्वस्थानीको कथा श्रवण गरेपछि मात्र माधव नारायण व्रतको फल पाउने विश्वास रहेको राजोपाध्यायको भनाई हो ।

यस वर्षको माधव नारायण व्रत पुस २२ गते शुक्रबारबाट सुरु हुँदैछ ।

निकै कठिन व्रतको रुपमा लिइने यस एक महिने व्रत पूजामा व्रतालुले एक महिनासम्म दिनको एक छाक मात्र खाने, नून खान नहुने, दिनहुँ स्नान गरी एक चित्त शुद्ध भइ रहनुपर्ने, परदेश यात्राको क्रममा विभिन्न धार्मिक स्थलहरुमा पूजा जानुपर्ने लगायतका नियमहरु रहेका छन् ।

व्रतको क्रममा आज विहिबार व्रतालुहरुलाई ‘भि भ्वय् नयेगु’ भनेर भोज खुवाइन्छ भने भोलि शुक्रबारबाट व्रत सुरु हुन्छ ।

आउँदो माघ २२ गते अश्वमेघ यज्ञ गर्दै व्रतको साङ्गे गरिनेछ ।

Categorized in संस्कृति
SKIP THIS dahain 2081