arin enterprises

अभिनेता द्वय मल्ल र श्रेष्ठ लगायतलाई हरितारा पुरस्कार

SamacharDesk – बिकाश | २०७७ पौष २२, बुधबार

चलचित्र क्षेत्रका कलाकारहरु विभिन्न पुरस्कार र सम्मानबाट सम्मानित भएका छन् ।

हरितारा चलचित्र पुरस्कार समिति र परिवर्तन नेपालले आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी हरितारा चलचित्र पुरस्कार, श्रीदुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार र परिवर्तन सम्मानबाट कलाकारहरुलाई सम्मान गरेको हो ।

विविध कारणले गत वर्ष दिन नसकिएको सम्मान पनि आजको कार्यक्रममा एकसाथ प्रदान गरिएको हो ।

नेपाली चलचित्र क्षेत्रको उत्थानका लागि ४ दशक भन्दा बढी समयदेखि सक्रिय रहेको भन्दै कलाकार कृष्ण मल्ललाई वि सं २०७६ को हरितारा पुरस्कार प्रदान गरिएको छ । त्यस्तै नेपाली कला संस्कृति, रंगमञ्च, रेडियो नाटक देश विदेशमा पुर्याउन योगदान गर्नुभएका अभिनेता मदनदास श्रेष्ठलाई श्रीदुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कारबाट पुरस्कृत गरिएको छ ।

दुवै पुरस्कारको राशी जनही रु. २५ हजार रुपैयाँ रहेको छ ।

२०७७ को हरितारा चलचित्र पुरस्कार भने गीतकार सहदेव ढुङ्गानालाई प्रदान गरियो । २०७७ सालको श्रीदुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार संचारकर्मी राजेश खनाल र अभिनेत्री सपना श्रेष्ठलाई प्रदान गरियो । दुवैलाई जनही नगद दश हजार सहित सम्मान पत्र प्रदान गरिएको छ ।

यस्तै चलचित्र निर्देशक माधव राज खरेललाई परिवर्तन सम्मान प्रदान गरिएको छ । साथमा निर्देशक तथा कलाकार विश्वदिप घिमिरे र नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखाका सचिव मोहन पन्त पनि परिवर्तन सम्मानबाट सम्मानित भएका छन् ।

२०५२ सालमा समाजसेवी विजया राणा (तारा नानी) ले आफू र आफ्ना पति हरि शम्शेरको नाममा स्थापना गरेको यस पुरस्कारलाई चलचित्र क्षेत्रको पहिलो पुरस्कार मानिन्छ ।

Categorized in पेजथ्री