आजबाट मलमास शुरु
SamacharDesk – बिकाश | २०७७ आश्विन २, शुक्रबार

आजबाट पुरुषोत्तम महिना अर्थात मलमास शुरु भएको छ । आजबाट शुरु भएको यस वर्षको मलमास आउँदा आश्विन ३० गतेसम्म रहनेछ ।
एक वर्षमा १२ महिनामात्र हुने भएपनि अधिकमासको समयमा वर्षमा १३ महिना पर्न आउँछ । एक महिना बढी हुने भएकोले यसलाई अधिकमास पनि भन्ने गरिन्छ ।
प्रत्येक महिना आदिका स्वामी हुने तर अधिकमास अर्थात् मलमासको कुनै स्वामी छैनन् ।
कुनै देवताले यस महिनाको स्वामित्व नलिँदा भगवान पुरुषोत्तम स्वयमले यसको आधिपत्य स्वीकार गरेको किम्वदन्ती छ । त्यसैले नै यो महिनालाई पुरुषोत्तम महिना भनिएको कथन छ ।
शास्त्रीय मत अनुसार मलमासमा दैनिक गरिने पूजापाठ, जप, ध्यान, तर्पण आदि नित्य कर्म गर्न सकिने भएपनि कुनै पनि किसिमका शुभ कर्महरु गर्न भने बर्जित छ ।
विवाह, ब्रतबन्ध लगायतका शुभ कार्यको साथमा उद्देश्य प्राप्तीका लागि गरिने भाकल पूजाहरु जस्तै यज्ञ, होमहोमादी, गृहप्रवेश, सप्ताह, नवाह लगायतका अनुष्ठानजन्य कर्महरु भने यस अवधिमा बर्जित छ ।
नयाँ घर, सवारी आदि बस्तुहरुको खरीदका लागि पनि मलमास उपयुक्त समय मानिन्न ।
यो समयमा भगवान पुरुषोत्तमको आराधना गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।
भगवान नारायणले मत्स्य अवतार पनि यहि सयममा लिएको विश्वासका साथ यो महिना मत्स्यनारायको पनि विशेष पूजा गरिन्छ ।
यसै कारणले यस अधिकमासमा माछा खान नहुने विश्वास पनि समाजमा रहेको छ ।
काठमाडौंको दक्षिण पश्चिमी भेगस्थित मत्स्यनारायणमा त यो महिना ठुलै मेला लाग्ने गर्दछ । तर यस वर्ष कोरोना महामारीका कारण मत्स्यनारायण मेला स्थगित गरिएको छ ।
सौर्य र चन्द्रवर्षको बीचमा प्रत्येक वर्ष करीब ११ दिनको फरक पर्दै जाँदा प्रत्येक २ वर्ष ८ महिनामा ३० दिनको अवधि बढी हुन आउँछ । यही समयलाई मिलान गर्न ज्योतिषशास्त्रमा अधिकमासको ब्यवस्था गरिएको हो ।
मलमासको कृष्ण पक्षमा जन्मिएका वा मृत्यु भएकाको तिथि निर्धारण गर्दा एक महिना पछिको गरिन्छ ।
मलमासको समयमा विवाह गरेको पहिलो वर्ष परेमा श्रीमान् श्रीमती सँगै बस्न नहुने प्रचलन रहेको छ ।
सामान्यतया सोह्रश्राद्ध सकिएको भोलिपल्टबाट बडादशैं शुरु हुने भएपनि यसपटक बीचमा मलमास परेकाले दशैं एक महिना पर सरेको छ ।
Categorized in संस्कृति