भक्तपुरमा मानन्धर र असंबरे सम्मानित
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८२ श्रावण ११, आइतबार

भक्तपुरको साहित्यिक संस्था नेपाल साहित्य मन्दिरले यस वर्षको जरिमैंया साखः लुमन्ति पुरस्कार सुलोचना मानन्धर धिताललाई प्रदान गरिएको छ ।
संस्थाले नेपालभाषा साहित्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने महिला साहित्यकारलाई प्रदान गरिने उक्त पुरस्कार यस वर्षका लागि शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रममा मानन्धर धिताललाई प्रदान गरिएको हो ।
त्यसैगरी नेपालभाषा साहित्य क्षेत्रमा योगदान दिने पुरुष साहित्यकारलाई दिइने कुमार साखः लुमन्ति हःपाः पुरस्कार भने विजयरत्न असंबरेलाई प्रदान गरिएको छ ।
दुबै पुरस्कारको राशी जनही दश हजार रुपैयाँ रहेको छ । नेपाल साहित्य मन्दिरका संस्थापक प्रसिद्ध साहित्यकार तिलक प्रकाश कायस्थ प्रमुखले पुरस्कृत दुवै स्रष्टालाई पुरस्कार प्रदान गरे ।
सोही कार्यक्रममा पाल्पा तानसेनका वरिष्ठ भाषिक अभियन्ता छत्र राज शाक्यलाई विशिष्ट साहित्य सम्मान ११४५ पनि प्रदान गरिएको थियो । स्वास्थ्य स्थितिका कारण शाक्य कार्यक्रममा उपस्थित भने हुन सकेनन् ।
कार्यक्रममा साहित्य मन्दिरका संस्थापक अध्यष कायस्थ, व्यवसायी कृष्णलाल प्रधान, विराट गुथिका अध्यक्ष र नेपालभाषा एकेडेमीका सदस्य सचिव महेन्द्र गोपाल कर्माचार्यको साथमा पुरस्कृत व्यक्तित्वद्वय धिताल र असंबरे लगायतले मन्तव्य राखेका थिए ।
सोही कार्यक्रममा सुलोचना साँयजु, हिसिलिना शाक्य, रहिना नकर्मी मानन्धर, बिनिता खडगी, बिना नेमकुल, मन्जु श्रेष्ठ सिंह, मिमला शर्मा, पुर्णिमा शाक्य, दिव्या बज्राचार्य, विमला मानन्धर, मिलन शाक्य, रिता महर्जन र कवयत्री प्रतिसरा सायमिले कविता वाचन गरेका थिए ।
आयोजकका तर्फबाट नेपाल साहित्य मन्दिरका अध्यक्ष प्राज्ञ त्रैलोक्यमान बनेपाली अगिब, रामनारायण प्रजापति र उत्तम नारायण प्रधानले आआफ्ना विचार राखेका थिए ।
Categorized in पेजथ्री