मंगलबजारमा दरवार क्षेत्रको नक्सा राखियो
SamacharDesk – शिवेश शर्मा | २०७७ आषाढ १४, आइतबार

मंगलबजारस्थित मणिकुमार मन्दिरको पूर्वपट्टि रहेको आयु सत्तल अगाडि दरवार क्षेत्रको नक्सा बोर्ड राखिएको छ ।
शुक्रबार विहान ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले एक औपचारिक कार्यक्रमबीच उक्त बोर्डलाई सार्वजनिक गर्नुभयो ।
कार्यक्रममा ललितपुर महानगरपालिका कार्यालय, १६ वडाका वडाध्यक्षको साथै मंगल टोल सुधार संघ, दरवार महिला समूह लगायतका संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए ।
ललितपुर उपमहानगरपालिकाबाट महानगरपालिका घोषणा भएपछि सम्पदा क्षेत्रको नक्सा बोर्ड राखिएको भने यो पहिलो पटक हो ।
बोर्ड राख्नका लागि ललितपुर महानगरपालिका, पाटन पर्यटन विकास समिति, रोटरी क्लब–यल र पाटन हेरिटेज वाकले सहयोग गरेको देखिन्छ ।
यसरी बल्लबल्ल राखिएको नक्सा बोर्डमा पनि त्रुटिहरू देखिएका छन् ।
देगु तलेजु 4C मा र तलेजु 4D मा हुनुपर्नेमा यी दुईवटाको नामहरू ठ्याक्कै उल्टो भइरहेका छन् ।
मूलचोकको पूर्वी भागमा 4F भनी विद्या मन्दिर अंकित छ । विद्या मन्दिर होइन विद्यापीठ चाँहि मूलचोकको पश्चिमी भागमा पर्दछ ।
यदि यस नक्सामा भनिएको मन्दिर मूलचोकको यन्ताजु हे भनेपनि चोकमा बीचमा अंकित हुनपर्थ्यो ।
त्यस्तै चार नारायणलाई जगन्ननारायण लेखिएको छ ।
यी त्रुटिहरू हेर्दा सामान्य जस्तो देखिन्छ तर यही नक्सालाई आधार मानेर कसैले अनुसन्धान गर्छ वा केही लेख्छ भने गलत सूचना प्रवाह हुन जानसक्छ ।
यसबारे सरोकारवालाले सोचेर आवश्यक कदम चालिनु आवश्यक देखिन्छ ।
Categorized in स्थानीय