arin enterprises

संक्रमण फैलिनबाट रोक्न उपत्यकाको नाकामा कडाइ गर्न मेयरहरुको माग

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ बैशाख २३, मंगलबार

केही दिन अघि काठमाडौँमै संक्रमित देखिएपछि हिँडेरै काठमाडौं छाड्नेको लर्को नै लागेको थियो । अहिले बाहिर जिल्लामा संक्रमण देखिएपछि फेरी रातारात काठमाडौं आउनेको संख्या बढ्दो छ । 

यस्तो अवस्थाले संक्रमण झन फैलिन सक्ने भन्दै उपत्यकाको नाकामा कडाई गर्न उपत्यकाभित्रका स्थानीय तहका प्रमुखहरुले माग गरेका छन् ।

मंगलवार उपत्यका नगरपालिका फोरमले उपप्रधानमन्त्री साथै कोभिड–१९ उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेललाई भेटेर उपत्यकाबाट बाहिर पठाउने र बाहिरबाट उपत्यका पठाउने होडबाजीमा रोक लगाउन माग गर्यो ।

सो अवसरमा, वैठकमा सहभागी नगरपालिका प्रमुखहरुले उपत्यकाबाट विद्यार्थी र मजदुरहरुलाई जिल्ला पठाउने र मोफसलबाट उपत्यका पठाउने होडबाजीले कोरोना संक्रमण झन् भयावह हुनसक्ने अवस्था दर्शाउँदै फोरमले तत्काल उपत्यका भित्रिने नाकामा कडाई गर्न आग्रह गरेको हो ।

साथै, उपत्यकामा अत्यावश्यक बाहेक अन्य सवारी साधनको प्रवेशमा पनि कडाई गर्न फोरमले सुझाव दिएको छ । 

छलफलको क्रममा काठमाडौं महानगरपालिकाका मेयर साथै फोरमका अध्यक्ष विद्यासुन्दर शाक्यले संघीय राजधानी समेत भएको र उपत्यकाभित्र ६६ जिल्लाकै मानिसहरुको वसोवास रहेको कारणले पनि उपत्यकाको सन्दर्भमा सरकार र राजनीतिक दलको समेत सामूहिक प्रयास आवश्यक भएको उल्लेख गर्नुभयो । 

काठमाडौं भित्रिने नाकाका सुरक्षा व्यवस्था कडा बनाउँदै यहाँ लकडाउन खुकुलो बनाउनृपर्ने सुझाव पनि उहाँले दिनुभएको थियो ।

सो अवसरमा समन्वय समितिका संयोजक पोखरेलले नगरपालिका फोरमको सुझावलाई मन्त्रीपरिषद् वैठकमा लग्ने र त्यहाँ आवश्यक छलफल गरी निर्णय गर्ने बताउनुभएको थियो ।

छलफलमा कामप मेयर शाक्यको साथमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, मध्यपुर थिमि नगरपालिका मेयर मदनसुन्दर श्रेष्ठको साथै सांसदद्वय कृष्णगोपाल श्रेष्ठ र जीवनराम श्रेष्ठको समेत उपस्थिती रहेको थियो ।

छलफल पछि संचारकर्मीहरुसँग कुरा गर्दै कामपा मेयर शाक्यले घना जनघनत्व भएको काठमाडौंमा संक्रमण फैलिए नियन्त्रणमा मुस्किल हुने बताउँदै समाधानका लागि सबै राजनीतिक दल र जनप्रतिनिधिको सामूहिक प्रतिवद्धता आवश्यक रहेको बताउनुभयो ।

नेपालगञ्ज, विरगञ्जलगायतका स्थानमा कोरोना संक्रमितका विरामी बढिरहेका बेलामा एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आवत–जावतबाट संक्रमणको खतरा बढी हुनेहुँदा यस किसिमको आवतजावत रोक्न सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने आवश्यकता शाक्यले औंल्याउनुभयो ।

जिम्मेवार नेताहरुले नै लकडाउनका बेला काठमाडौंबाट मजदुर–विद्यार्थीलगायतलाई धमाधम गाउँ फर्काउने र बाहिरबाट पनि काठमाडौँ पठाउने गरेकोप्रति संकेत गर्दै त्यसले झन चिन्ता थपेको उहाँले बताउनुभयो । 

‘अहिले राजनीतिक दल, नेता र जनप्रतिनिधिहरुले आवत–जावतलाई प्रोत्साह गर्ने भन्दा सामूहिक प्रयासमा राजधानीमा रहेका र समस्यामा परेका नागरिकलाई सहज जीवन–यापनमा सहजीकरण गर्नुपर्छ,’ ‘उहाँले भन्नुभयो ।

राजधानीमा रहेका क्वारेण्टाइनलाई व्यवस्थित गर्ने, बिदेशबाट आएका, उनीहरुको सम्पर्कमा रहेका र लक्षण देखिएका, आशंका भएका व्यक्तिहरुलाई परिक्षणको दायरामा ल्याउनेलगायतका कार्यमा पनि सामूहिक प्रयासको आवश्यकता शाक्यले औँल्याउनुभयो ।

कोरोना संक्रमणको रोकथाम र नियन्त्रणमा सामूहिक प्रयास गरी काठमाडौँबासीलाई ढुक्कसँग बस्ने वातावरण निर्माणका लागि सबै राजनीतिक दल, संघ–संस्था र जिम्मेवार निकायसँग सहकार्य गरेर अघि बढ्न आफू तयार रहेको भन्दै प्रमुख शाक्यले सहकार्यको लागी सबैलाई आव्हान समेत गर्नुभयो ।

Categorized in स्थानीय