arin enterprises

अवैध मोबाइलमा सोमबारदेखि नेटवर्क बन्द

SamacharDesk | २०८० कार्तिक २०, सोमबार

आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू हुने भएको छ ।

अवैध मोबाइल नियन्त्रण गर्ने उद्देश्यसाथ बारम्बार सञ्चालनको घोषणा गरिएको ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) सोमबारदेखि लागु हुने भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयनमा ल्याउने भएको हो ।

यस प्रणालीमा दर्ता नभएका फोनहरू क्रमशः ब्लक हुने प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिनुभएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै एमडिएमएस लागू भएसँगै अवैध वा गैरकानुनी रूपमा ल्याइएका मोबाइलमा कुनै पनि सिमकार्ड नचल्ने जनाएको छ ।

गत वर्ष असोज १ देखि परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको यो प्रणालीलाई प्राधिकरणले त्यसको एक वर्षपछि सञ्चालन गर्न लागेको हो । प्राधिकरणले नेपाल भित्रिने हरेक मोबाइलको आइएमइआई नम्बर दर्ता गर्न अनिवार्य गरेको छ ।

वैध रूपमा सरकारलाई भन्सार तिरेर ल्याइएका फोन स्वतः एमडिएमएस प्रणालीमा दर्ता हुने पनि प्राधिकरणले बताएको छ । सुरूमा हाइ रेन्ज एक लाख माथि मूल्यका  मोबाइल सेटमा यो लागू हुने र प्रणालीमा दर्ता नभएका सेटहरु क्रमशः दैनिक रुपमा ब्लक गर्दै जाने प्राधिकरणले जनाएको छ ।

सरकारले यस अघि पनि प्रणाली कार्यान्वयनमा ल्याएकोमा चर्को विरोध पछि स्थगन गरेको थियो । एमडिएमएस प्रणालीका लागि प्राधिकरणले सञ्चालनमा ल्याएको mdms.nta.gov.np मा गएर मोबाइल दर्ता भएरनभएको हेर्न सकिन्छ ।

व्यक्तिगत रूपमा विदेशबाट ल्याइएका मोबाइल पनि यसैमार्फत दर्ता गर्न सकिन्छ । व्यक्तिगत मोबाइल दर्ताका लागि भन्सार घोषणासहितको प्रज्ञापनपत्र अपलोड गर्नुपर्ने छ ।

प्राधिकरणले आफ्नो दर्ता प्रक्रियालाई पूर्ण रूपमा अनलाइन र निःशुल्क गरेको छ ।

Categorized in राष्ट्रिय