arin enterprises

मेलम्ची आयोजनाको हेडबक्स सार्ने प्रक्रिया शुरु

SamacharDesk | २०८१ आषाढ ५, मंगलबार

मेलम्ची खानेपानी आयोजनाले आयोजनाको हेडबक्स सार्नका लागि गृहकार्य सुरु गरेको छ ।

गत जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकले आयोजनाको हेडबक्स सुरक्षित स्थानमा सार्नका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको थियो ।

मन्त्रीपरिषद् बैठकले सैद्धान्तिक अनुमति दिने निर्णय गरेसँगै आयोजनाले विस्तृत अध्ययनका लागि परामर्श दाता छनौट प्रक्रिया अघि बढाएको हो । 

आयोजनाले असार मसान्तभित्र सम्ममा विस्तृत अध्ययनका लागि परामर्शदाता छनोट गर्ने जनाएको छ । गत २०७८ साल असार १ गते आएको बाढीपहिरोका कारण आयोजनाको हेडबक्सको ९० प्रतिशत भूभाग गेग्रानले पुरेर क्षति भएको थियो ।

त्यसलगत्तै हेडबक्स वरपरको गेग्रान सफा गरिसकेपछि फेरि २०८० साउन २७ गते आएको बाढीले गेग्रान थुपारेको थियो ।

विज्ञहरुबाट गराइएको विभिन्न अध्ययनहरुले हेडवक्सलाई पुनः सोही स्थानमा निर्माण गर्नु थप जोखिमयुक्त रहने देखाएकाले हेडबक्स सार्ने निर्णयमा पुगेको आयोजनाले जनाएको छ ।

विज्ञ टोलीहरु हेडबक्समा थुप्रिएको गेग्रान छानेर पानी पठाउन सक्ने अवस्था नभएको निष्कर्ष निकालेपछि आयोजनाले हेडबक्सलाई झन्डै १ हजार मिटर माथि सार्ने भएको हो ।

दुईवटा पहाडकाबीच खोचमा सार्न लागिएको हेडबक्स निर्माणको विस्तृत अध्ययनका लागि असार मसान्त भित्र सूचना प्रकाशित गर्ने तयारीमा आयोजना रहेको छ ।

पुरानो हेडबक्स भन्दा झन्डै १ हजार मिटर दूरी अगाडि (माथि) बनाउन लागिएको हेडबक्सका लागि झन्डै साढे ३ अर्ब लागत लाग्ने अनुमान आयोजनाले गरेको छ ।

असार भित्रै हेडबक्सको डिपिआरका लागि परामर्शदाता छनौट गर्न सूचना प्रकाशित गर्ने तयारी गरेको आयोजनाले समयमै काम सम्पन्न भएमा ४ वर्ष भित्र हेडबक्सका सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने प्रक्षेपण गरेको छ ।

हेडबक्सलाई पानीसँग सम्बन्धित संरचनामा प्राथमिक गेटवे मानिन्छ । पानी जम्मा हुने, थिग्रिने,  बालुवा तथा ढुंगा छानिने लगायत संरचनाहरु हेडबक्स भित्र रहने गर्दछ ।

पहिला हेडबक्स बाहिर राखिएको थियो भने अबको संरचना टनेल भित्र नै राख्ने गरी व्यवस्थापन गरिने आयोजनाले जनाएको छ ।

हेडबक्स प्रयोगमा भएको संयन्त्रले बर्षाद्को समयमा पानीमा मिसिएर आउने बालुवालाई छान्ने गर्दछ ।

Categorized in राष्ट्रिय