जनप्रतिनिधि र नागरिकबीच दुरी बढेकोमा सभासद् श्रेष्ठको चिन्ता
SamacharDesk – बिराज | २०८१ माघ १६, बुधबार

प्रतिनिधि सभाकी सभासद् सुमना श्रेष्ठले जनप्रतिनिधि र नागरिक बीचमा दुरी बढ्नाले चिन्ता थपिएको बताएकी छिन् ।
बीरगंजदेखि काठमाडौंसम्मको पैदल यात्रा समापन गरी सभासद् श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै यस्तो बताएकि हुन् ।
६ बुँदे विज्ञप्ती जारी गर्दै सभासद् श्रेष्ठले जनप्रतिनिधिहरु जनताको समस्या भन्दा पार्टीको स्वार्थमा केन्द्रीत भएको अनुभव आफुले सुनेको बताइन् ।
‘जनप्रतिनिधिहरू जनताको वास्तविक समस्या भन्दा पार्टीको स्वार्थमा बढी केन्द्रित भएको अनुभव सुनियो। चुनाव जितेपछि आफ्ना कार्यकर्ता केन्द्रित हुने प्रवृत्तिले नागरिकहरूलाई उपेक्षित महशुस गराएको छ’ विज्ञप्तीको चौथो संख्यामा लेखिएको छ ।
त्यस्तै श्रेष्ठले स्वास्थ्य क्षेत्रमै पनि दलगत हस्तक्षेप देखिएको भन्दै स्वास्थ्य सेवाको पहुँच र गुणस्तर पनि सन्तोषजनक नरहेको बताएकि छिन् । विद्यार्थीहरुमा मानसिक स्वास्थ्य सम्वन्धि समस्याबारे राज्य गम्भीर हुनुपर्ने श्रेष्ठको सुझाव हो ।
समाजमा चरम दलीय राजनीतिकरणले निराशा बढ्नुुका साथै आत्मविश्वास घटेको, शिक्षामा सुधारका लागि कदम चालिहाल्नुपर्ने, आर्थिक र सामाजिक असमानता लगायतका अवस्था समाजमा आफुले देखेको श्रेष्ठले भनेकी छन् ।
नयाँ पुस्तामा परिवर्तनको हुटहुटी देखिएको पनि श्रेष्ठले भनेकी छन् ।
‘नागरिक आक्रोशित भए पनि समाधानको खोजीमा छन्। नेतृत्वबाट जवाफदेहिताको खोजिमा छन्। परिवर्तनको वेग बढ्दो छ’ श्रेष्ठको भनाई हो ।
जनताको अनुभव र गुनासो प्रत्यक्ष रुपमा सुन्ने उद्देश्यले सभासद् श्रेष्ठले गत माघ १० गतेबाट बीरगंजदेखि काठमाडौंको पैदल यात्रा सुरु गरेकी थिइन् ।
एक साताको पैदल यात्राको क्रममा श्रेष्ठले प्रत्यक्ष कुराकानी गर्दै जनताको गुनासो, अनुभव सुनेकी थिइन् ।
आज विहान नैकापदेखि पैदल हिँड्दै काठमाडौं शहिदगेट पुगेर श्रेष्ठले यात्रा समापन गरेकी थिइन् ।
