मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को उपाधि राई र कार्कीलाई
SamacharDesk | २०८० भाद्र ३, आइतबार

‘मेरो भ्वाइस युनिभर्स’ को उपाधि प्रितम राई (भारत) ले र ‘मेरो डान्स युनिभर्स’ को उपाधि खुशी कार्की (थाइल्याण्ड) ले जितेका छन् ।
शनिवार ललितपुरको गोदावरीमा भएको अन्तिम प्रतिष्पर्धाबाट गायनतर्फ राई र नृत्यतर्फ कार्कीले उपाधि हात पारेका हुन् ।
विजयी कलाकारहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरेले पुरस्कार प्रदान गर्नुभएको थियो । सो अवसरमा प्रधानमन्त्री दाहालले आफू कलाकार बन्ने इच्छाद्वारा प्रेरित बनेको बताउनुभएको छ ।
उहाँले आफू जमानामा कलाकार हुने इच्छाबाट प्रेरित भएको भन्दै अहिले प्रधानमन्त्री बन्दा पनि कला र संस्कृतिलाई सक्दो सहयोग गरिरहेको बताउनुभयो ।
त्यसैगरी ‘मेरो भ्वाइस युनिर्भस’को फस्ट रनरअप शिशिर ठटाल (भारत) र ‘मेरो डान्स युनिर्भस’ को फस्ट रनरअप देवी गर्बुजा (बेल्जियम) ले हात पार्नुभयो ।
शनिवार भएको अन्तिम प्रतिष्पर्धा (ग्राण्ड फिनाले) मा अन्तिम पाँच–पाँच प्रतियोगीबाट उनीहरू छानिएका हुन् । मेरो भ्वाइस युनिभर्स सेकेण्ड रनरअफमा शरद हुमगाईँ (नेपाल), थर्ड रनरअपमा परेश राई (नेपाल) र फोर्थ रनरअप साइराज खाती (भारत) रहनुभएको छ ।
त्यस्तै ‘मेरो डान्स युनिभर्स’ सेकेण्ड रनरअपमा मिग्मा डि लेप्चा (भारत), थर्ड रनरअपमा स्वस्तिक अर्याल (नेपाल) र फोर्थ रनरअपमा नेसन सुस्लिङ मगर (नेपाल) रहनुभएको छ ।
गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’तर्फ सिक्किमका शिशिर ठटाल र प्रितम राई, दार्जलिङका साइराज खाती तथा संखुवासभाका परेश राई र काभ्रेका शरद हुमागाईँ अन्तिम पाँचमा रहनुभएको थियो ।
त्यस्तै नृत्य प्रतियोगिता ‘मेरो डान्स युनिभर्स’तर्फ मिङ्मा डि लेप्चा (सिक्किम), खुशी कार्की (थाइल्याण्ड), देवी गर्वुजा मगर (बेल्जियम) तथा नेपालको नेशन सुस्लिङ मगर महोत्तरी र गोरखाका स्वस्तिक अर्याल अन्तिम पाँचमा रहनुभएको थियो ।
इन्ट्रा नेपाल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले सञ्चालन गरेको दुवै प्रतियोगिताका विजेताले जनही एक करोड, फस्ट रनरअपले ३० लाख र सेकेण्ड रनरअपले २० लाख, थर्ड रनरअपले १० लाख र फोर्थ रनरअपले पाँच लाखसहित विभिन्न पुरस्कार प्राप्त गर्नुभएको छ ।
समूह नृत्यतर्फ भने नेपाल प्रहरी (नेपाल) विजेता बनेको छ । सो समूहले २० लाख पुरस्कार प्राप्त गरेको छ ।
