मेस्सीको जर्सी ७.८ मिलियन डलरमा बिर्की
SamacharDesk – आकाश राजोपाध्याय | २०८० मङ्सिर २९, शुक्रबार

अर्जेटिनी स्टार फुटबलर लियोनेल मेस्सीको छवटा जर्सी ७.८ मिलियन डलरमा बिर्की भएको छ । मेस्सीले सन् २०२२ को विश्वकपमा लगाएका छ वटा जर्सी न्युयोर्कमा भएको सोथेबीको लिलामीमा संयुक्त रूपमा ७.८ मिलियन डलरमा बिक्री भएको हो ।
बिक्री भएका ती छ वटा जर्सी मेसीले फाइनलको पहिलो हाफ, सेमिफाइनल, क्वार्टरफाइनल, अन्तिम १६ को टाई र समूह चरणको दुई खेलमा लगाएका थिए ।
आठ पटक बालोन डी’ओर विजेता मेस्सीले अर्जेन्टिनाको २०२२ को विश्वकपका सबै सात खेल खेलेपनि समूह चरणमा मेस्सीले लगाएका तीन जर्सी मध्ये दुई मात्र अक्सनमा राखिएको थियो । अष्ट्रेलिया विरुद्धको खेलमा भने मेसीको जर्सी क्यामी डेभलिनले साटेका थिए ।
सन् २०२२ को विश्वकप प्रतियोगिाको फाइनलमा मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै विश्वकप उपाधि हात पारेको थियो ।
मेस्सीले समूह चरण, अन्तिम १६, क्वार्टरफाइनल, सेमिफाइनल र फाइनलमा गोल गर्ने विश्वकप इतिहासको पहिलो खेलाडी बने ।
सोथेबी जनाए अनुसार लिलामीबाट प्राप्त आम्दानीको एक भाग दुर्लभ रोगबाट पीडित बालबालिकाका लागि लियो मेस्सी फाउन्डेशनको सहयोगमा सान्ट जोन डे डेउ बार्सिलोना बाल अस्पतालको नेतृत्वमा युनिकास परियोजनालाई दान गरिनेछ ।
फुटबल जर्सीको रेकर्ड अर्जेटिनाकै डिएगो म्याराडोनाको रहेको छ । म्याराडोनाले सन् १९८६ को विश्वकपमा इङ्ल्यान्डविरुद्ध क्वाटरफाइनलमा ‘ह्यान्ड अफ गॉड’ गोल गर्दा लगाएको जर्सी लण्डनको सोथेबीको लिलामीमा ९.२८ मिलियन डलरमा विश्व कीर्तिमानी मूल्यमा बिकिएको थियो ।
यस्तै बास्केटबल लिजेन्ड माइकल जोर्डनले लगाएको जर्सी सन् २०२२को सेप्तेम्वरमा १०.१ मिलियन डलरमा बिक्री भएको थियो । जुन खेल इतिहासको लिलामीमा किनेको सबैभन्दा महँगो जर्सी हो ।
Categorized in स्पाेर्ट्स