arin enterprises

नेवाः किन्डरगार्टेनमा म्हपूजा सम्पन्न

SamacharDesk – बिराज | २०७८ कार्तिक १८, बिहिबार

खुसिबुँस्थित काठमाडौं नेवाः किन्डरगार्टेनमा म्हपूजाको मन्दः प्रतियोगीता सम्पन्न भएको छ ।

किन्डरगार्टेनमा अध्ययनरत विद्यार्थीहरुका अभिभावकहरुबीचमा मन्दः बनाउने प्रतियोगीता भएको हो । प्रतियोगीतामा ९ जना विद्यार्थीका अभिभावकहरुले मन्दः बनाएका थिए ।

९ प्रतियोगीमध्ये एक जनालाई पुरस्कृत समेत गरिएको थियो ।

९ मध्ये उत्कृष्ट मन्दःको छनौट संचारकर्मी बिराजकाजी राजोपाध्यायले गरेका थिए । छनौट प्रकृयाको जानकारी दिने क्रममा संचारकर्मी राजोपाध्यायले मन्दःको अर्थ र यसको दर्शनको बारेमा जानकारी दिएका थिए ।

विविधताले भरिएको नेवार समुदायमा मन्दः बनाउने विधि र स्वरुपमा पनि विविधता देखिएपनि पंचतत्वलाई मूल आधार मानेर बनाइने मन्दःको दर्शन मानव जीवनसँग जोडिएको राजोपाध्यायले जानकारी गराउनुभयो ।

‘मानव शरीर पंचतत्वले बनेको हुन्छ, त्यहि पंचतत्वलाई मन्दःमा प्रतिस्थापित गरी मन्दःको पूजा गर्दै म्हपूजा गरिने हो, आफ्नै पूजा गर्ने म्हपूजा परम्पराले भगवान आफैंभित्र छ, बाहिर खोज्नुपर्दैन भन्ने शिक्षासमेत दिइरहेको छ’ राजोपाध्यायले भन्नुभयो ।

मन्दः प्रतियोगीता पछि किन्डरगार्टेनका विद्यार्थीहरुलाई सोही मन्दःमा म्हपूजा गराइएको थियो । लिपि अभियानकर्मी सुनिता डंगोलले विद्यार्थीहरुलाई म्हपूजा गराएकि थिएन् ।

मन्तव्यको क्रममा अभियानकर्मी डंगोलले विद्यालयमा यस किसिमका अतिरिक्त क्रियाकलापले भोलिको दिनमा नयाँ पुस्तामा मौलिक संस्कृतिको निरन्तरतामा ठुलो टेवा दिने विचार राख्नुभयो ।

‘भोलिका दिनमा विद्यार्थीहरुले किताबमा पढेका विषयवस्तुहरु बिर्से पनि यस्तो साँस्कृतिक गतिविधिहरु विर्सिने छैनन्, बालबालिकाहरुले आज यसको अर्थ नबुझे पनि भोलि यसको अर्थ बुझाउन सक्नेछन्’ डंगोलको भनाई हो ।

किन्डगार्टेनका निर्देशक राजेन्द्र महर्जनले संस्कृति, परम्पराको संरक्षणका लागि विद्यालयले वर्षेनी म्हपूजा कार्यक्रम गर्दै आइरहेको जानकारी गराउनुभयो ।

ईन्द्रजात्रा, यःमरि पुन्हि लगायतका साँस्कृतिक पर्वलाई समेत विद्यालयको अतिरिक्त क्रियाकलापको रुपमा निरन्तरता दिइरहेको पनि निर्देशक महर्जनले बताउनुभयो । 

Categorized in समाज