arin enterprises

म्हयपि अजिमाः संक्षिप्त अध्ययन

SamacharDesk – महेश्वर श्रेष्ठ | २०८१ बैशाख १३, बिहिबार

काठमाडौं महानगर वडा नं. १६ नयाँबजारबाट बालाजु जाँदा बाटोमा पर्ने विष्णुमती नदी पुल वारी दायाँ अर्थात उत्तर तर्फ म्हयपि नामको बस्ती छ ।

सो बस्तीको एक ठाउँमा रूख र झारपातले झपक्क छोपेको लगभग सय फुट अग्लो एउटा सानो डाँडो माथि श्री म्हयपि अजिमाको शक्तिपीठ छ ।

बिष्णुमती पुल वारी पूर्वी किनार हुँदै ५–६ मिनेट जतिको पैदल हिंडाईमा उक्त डाँडोको फेदमा पुग्न सकिन्छ । आजकाल काठमाडौं न्युरोड गेटबाट म्हयपि अजिमा शक्तीपीठको फेदसम्मै चल्ने माइक्रोबस सेवा उपलब्ध छ ।

डाँडोको दक्षिण–पश्चिम फेदबाट १५७ खुड्किलो ढुंगाको भर्‍याङ चढेर उक्लेपछि म्हयपि अजिमा मन्दिरको प्राङ्गणमा पुगिन्छ । दक्षिण–पूर्वमा पनि अजिमाको मन्दिर जाने भ¥याङको खुडकिलायुक्त बाटो छ ।

म्हयपि अजिमाको उत्पत्ती र नामकरणः

योगाम्बर–ज्ञानेश्वरी समेत भनिने म्हयपि अजिमाको उत्पत्ति कालखण्ड अज्ञात नै छ । तापनि यसलाई निकै प्राचिन शक्तिपीठ मानिन्छ ।

योगाम्बर–ज्ञानेश्वरी म्हयपि अजिमाको उत्पत्ती र नामकरणबारे प्रचलित किम्बदन्ती यस प्रकारका छन् जुन रहस्यमय र विरोधाभासपूर्ण पनि छन् ।

(१) एक किम्बदन्ती अनुसार प्राचिन कालमा नेपाल आएर प्रवजित भई शान्तिकराचार्यको नामले प्रशिद्ध बौद्ध भिक्षु बनेका गौण देशका राजा प्रचण्डदेवले स्वयम्भू महाचैत्यको साथै त्यसको वरपर बसुपुर, वायुपुर, अग्निपुर, शान्तिपुर र नागपुर नामका मन्दिरहरु निर्माण गराए ।

एक दिन शान्तिपुर गुफाकी देवीले नरबली माग्दा राजा प्रचण्डदेवले ३२ लक्षणले युक्त आफ्नै बालक छोराको बली दिए । अर्को जन्ममा निज बालक कामरुपकामाख्या (हाल भारत आसाम) की एक यक्षणीको गर्भबाट मच्छिन्द्रनाथको रुपमा जन्मे ।

मृतकको लासलाई शान्तिपुर मन्दिरको गर्भबाट खन्दै ल्याइएको सुरुङ मार्गबाट त्यसको उत्तरतर्फस्थित एक सानो डाँडोमा गाडियो जहाँ एक शक्तिपीठ उत्पन्न भयो ।

नेपालभाषामा ‘म्ह’ को अर्थ शरिर हो, ’म्हय्’ को अर्थ शरीरमाथि हो, ‘पि’ को अर्थ पीठ शब्दको संक्षिप्त रुप हो । यसरी शरीर वा लाश माथि उत्पन्न शक्तिपीठ भएकोले म्हयपि शक्तिपीठ भनिएको र शक्तिपीठलाई देवीको रुप मानिने हुनाले म्हयपि अजिमा भनिएको हो भनिन्छ ।

(२) अर्को किम्बदन्ती अनुसार योगाम्बर–ज्ञानेश्वरी म्हसपीठ (म्हयपि) को एक बज्राचार्य पुजारीले नित्य पूजा गर्ने क्रममा योगाम्बर–ज्ञानेश्वरीको आदेश बमोजिम प्राणीहरुको कल्याणका लागि आफ्नै ३२ लक्षणयुक्त बालक छोरालाई बलीभोग चढाई दिए ।

उक्त बालक अर्को जन्ममा कामरुपकामाख्या (हाल भारत आसाम) कि एक यक्षणीको कोखबाट करुणामयको रुपमा जन्मे ।

यी दुबै किम्बदन्तीमा उल्लेखित बालक र उनको बाबु फरक भए तापनि पुनर्जन्मको कथा एकै प्रकारको छ ।

जुन देवदेवीका लागि उनलाई बली दिइएको हो, ती देवदेवी पनि फरक छन् र दोस्रो किम्बदन्तीले पहिलो किम्बदन्तीलाई खण्डन गर्दै म्हयपि भन्ने ठाउँ लासमाथि उत्पन्न शक्तिपीठ नभएर त्यसभन्दा अघिदेखि नै त्यस नामको ठाउँ थियो भन्ने बुझाउँछ ।

(३) मन्दिरको जीर्णोद्धार सम्पन्न सम्बन्धि मिति २०५७।१२।२२ को शिलापत्रमा “लिच्छवीकालदेखि ‘म्हस्पृङ’ नामले प्रख्यात ‘म्हसपीठटोल’ म्हयपिमा विराजमान योगाम्बर ज्ञानेश्वरी देवता भनेर लेखिएको छ ।

यसले पनि म्हयपिलाई शरिर वा लासमाथि उत्पन्न शक्तिपीठ भन्दा पनि योगाम्बर–ज्ञानेश्वरी विराजमान हुनु भएको ठाउँ भनेर मानेको देखिन्छ ।

देवदेवीको मूर्ति बनाउन म्हयपिको माटो स्वयम्भू महाचैत्य नजिकको शान्तिपुर गुफाकी देवीले नरबली माग गर्दा बलीभोग दिइएका बालक (गौण देशका राजा प्रचण्डदेवका छोरा) वा म्हसपृङ (म्हसपि, म्हयपि) मा विराजमान योगाम्बर–ज्ञानेश्वरीको आदेशले बलीभोग दिइएका पुजारी बज्राचार्यका छोराको कामरुपकामाख्याकी यक्षणीको सन्तान अवलोकितेश्वर करुणामयको रुपमा पुनर्जन्म भएको, उहाँलाई सहकालको देवता मानेर तन्त्र साधना गरी नेपालमा ल्याइएको र पूर्वजन्ममा उहाँको दिव्य शरिर म्हयपिमा गाडिएको हुँदा नेपालमा भएका सबै करुणामयहरु (ललितपुरको रातो मच्छिन्द्रनाथ करुणामय, काठमाडौंको सेतो मच्छिन्द्रनाथ करुणामय, चोभारको आदिनाथ करुणामय र नालाको श्रृष्टिकान्त करुणामय) का साथै मुख्य मुख्य देवदेवीका मूर्तिहरु म्हयपिकै माटोबाट बनाउनु पर्ने परम्परा रही आएको छ ।

साथै ती मूर्तिहरु टुटफुट भएमा पनि मर्मत गर्न त्यहिँको माटो चाहिने प्रचलन रही आएको छ । कसैकसैले घरमा चुल्हो बनाउँदा प्रयोग गरिने माटोमा पनि यहाँको एक टुक्रा माटो मिसाउने गर्दछन् ।

योगाम्बर–ज्ञानेश्वरीको दार्शनिक पक्षबारेः

किम्बदन्ती अनुसार योगाम्बर–ज्ञानेश्वरीको दार्शनिक पक्षलाई आकाश र धरती बीचको संयोग, अर्थात महादेव र पार्वती बीचको समागम अर्थात पुरुष र प्रकृति (नारी) बीचको सहवासको रुप मानिएको देखिन्छ । त्यसैले योगाम्बर–ज्ञानेश्वरीको जोडीलाई रतिक्रिडारत मुद्रामा देखाइएको भनिन्छ ।

नारी पुरुष बीचको शारिरिक सम्पर्कलाई प्रथामिकता दिइएको हुँदा नै त्यस पीठको नाम म्हयपि रहन गएको हो कि भन्ने अनुमानलाई नकार्न सकिन्न ।

यस दर्शनको मूल सन्देश प्राणीहरुको श्रृष्टीको निरन्तरताको स्रोत सम्भोगबाट सन्तुष्ट भएर ध्यान गर्दा तत्व ज्ञान प्राप्त हुन्छ, यसरी प्राप्त तत्व ज्ञान नै शक्तिको स्रोत हो भन्ने बुझिन्छ ।

यस सन्देशलाई मनन गर्दा हामीले आचार्य रजनीश (११ डिसेम्बर १९३१ – १९ जनवरी १९९०) ले ‘सम्भोग से समाधी तक’ भन्ने जुन आध्यात्मिक दर्शनलाई प्रतिपादन गरेको र प्रचारमा ल्याएको देख्यौं, त्यस्तो दर्शन हाम्रो देशमा इतिहासको अज्ञात कालखण्डमै प्रचार र प्रयोगमा आइसकेको पुष्टी हुन्छ ।

म्हयपि अजिमाको दैनिकीः

म्हयपि अजिमाको प्रातःकालीन नित्य पूजा सायंकालीन आरती दिनुका साथै अन्य सबै किसिमका पूजाका लागि बज्राचार्य बौद्धलाई पुजारी राख्ने परम्परा छ ।

पहिले पहिले म्हयपि अजिमाको मूर्तिमा सिधै बलीभोग दिने गरिन्थ्यो । आजकाल त्यस चलनलाई परिवर्तन गरी नजिकैको गणेशको मूर्तिमा बलीभोग दिने गरिएको छ ।

मानिसहरुमा बलीप्रथा माथि विश्वास घट्दै गएको र बली दिन चाहनेहरुमा पनि बली दिइएका पशुपंक्षी सफा गर्ने समस्याले गर्दा पनि बलीभोग दिने चलन नै घट्दै गएको अवस्था छ ।

म्हयपि अजिमाको देवघर त्यौडचोक र ज्याठाचोक बीचमा पर्ने तँलाछि टोलस्थित एक चोक (प्राङ्गण) भित्र रहेको छ जसलाई म्हयपिचोक नै भनिन्छ ।

अहिले मन्दिर र देवघर परिसर सरसफाई, हेरचाह र सुरक्षाको लागि महर्जन थरका ज्यापुहरुको ६ परिवार संलग्न छन् । उनीहरु मन्दिर र देवघरमा रोष्टर बनाएर १–१ महिना चौबिसै घण्टा पालो बस्छन् ।

यसरी पालो बसेबापत उनीहरुले मन्दिरमा चढाइने दक्षिणा र अन्य वस्तु पाउने व्यवस्था छ ।

‘यसले तपाईंहरुको जीविका धान्छ त?’ भनी सोधेकोमा देवपालेहरु पंचनारायण महर्जन र मचाकाजी महर्जनले मुसुक्क हाँस्दै भने ‘वर्षको ४ महिना देवीको सेवा गर्ने हो । अजिमाको कृपाले सबै ठीकै चलेको छ । धेरै लोभ गर्न पनि हुन्न ।’

यतिउति भन्न नचाहे पनि मानिसको जनसंख्या वृद्धिका कारण भक्तजनहरुको संख्यामा हुने स्वाभाविक वृद्धिले अजिमालाई चढाइने नगद दक्षिणा अन्य जिन्सि चढावा राम्रैसित बढेकोले अहिले जीवन केही सहज भएको कुरालाई दुबैले स्वीकारे ।

म्हयपि अजिमाको खटजात्रा र त्यसको खस्कँदो अवस्थाः

प्रत्येक वर्षको चैत्रशुक्ल चतुर्दशीदेखि चैत्रकृष्ण प्रतिपदासम्म म्हयपि अजिमाको ३–दिने खटजात्रा हुन्छ ।

जात्राको पहिलो दिन तँलाछिटोलस्थित देवघरमा रहेको देवीको मूर्तीलाई सिंगारिएको काठको खटमा सजाएर ज्याठा, ठमेल, गलको, सामाखुसी हुँदै म्हयपि मन्दिरमा पुर्‍याइन्छ र रातभर त्यहीं राखिन्छ ।

दोस्रो दिन भोलिपल्ट (अर्थात चैत्रशुक्ल पूर्णिमा, बालाजु बाइसधारा मेलाको दिन) दिनभर मन्दिर परिसरमै म्हयपि अजिमाको वार्षिक विशेष पूजा हुन्छ ।

तेस्रो दिन देवीको खटलाई काठमाडौं महानगरको दक्षिणी वस्ती गोफलटोल, ब्रम्हटोल, मजिपात लगायतलाई समेटिने गरी पुरानो नगर क्षेत्रका सबै ठाउँ घुमाउँदै देवघरमा फर्काएर जात्रा बिसर्जन गरिन्छ । यसरी खटजात्रा गर्दा ठाउँठाउँमा पूजा थाप्ने गरिन्छ ।

पहिले पहिले देवीको खटजात्रा भव्य रुपमा हुने गर्थ्याे । देशमा भूमिसुधार लागु भएपछि मठमन्दिरको नाममा रहेको जग्गा मासिंदै गयो । त्यसको अलावा गुठी जग्गा रैकरमा परिणत गर्न पाउने कानून बने पछि त गुठी जग्गाका लागि काल नै आए जस्तो भयो ।

पहिले पहिले म्हयपि अजिमाको खटजात्रा हुँदा खट बोक्ने काम ज्याठा टोलका कुमाले (प्रजापति) थरका ज्यापुहरुले गर्ने परम्परा थियो । गुठीको जग्गा मासिए पछि अजिमाको देवखलकके चाहे जति खर्च दिन नसक्दा केही वर्ष अघिदेखि प्रजापतिहरुले खट बोक्ने काम छोडी दिएका रहेछन् ।

हाल देवपाले महर्जनहरुलाई केहि उत्प्रेरणा रकम थप गरी दिएर उनीहरुलाई नै खट बोकाउने काम हुँदै आएको रहेछ ।

म्हयपि अजिमाको देवखलक म्हयपि अजिमाको देवखलक थँहिटी टोलको एक श्रेष्ठ खलक रहेछ ।

हुन त म्हयपि परिसरको संरक्षण र व्यवस्थापनको लागि २०६० सालमै स्थानीय स्तरमा ‘म्हयपि संरक्षण तथा व्यवस्थापन समिति’ गठन र प्रशासनमा दर्ता भई सक्रिय रहे तापनि जात्रा चलाउने/मनाउने अभिभारा अझै पनि यही देवखलक श्रेष्ठहरुको काँधमा रहेछ ।

यस श्रेष्ठ खलकका कतिपय सदस्यहरु आफ्ना उद्योग व्यवसाय संम्हाल्न काठमाडौं बाहिर स्थायी बसाई सराई गरेर गएको, कतिपय विदेशमा बसोबास गर्न पुगेकाले अहिले काठमाडौंमा बसोबास गरीरहेका उत्तरदास श्रेष्ठ र अरुणदास श्रेष्ठ दुई दाजुभाईको परिवारले म्हयपि अजिमाको देवघर व्यवस्थापन, वार्षिक खटजात्रा र अन्य प्रमुख पूजाका लागि आवश्यक सम्पूर्ण आर्थिक व्ययभार वहन गर्ने पुर्ख्याैली बिंडो थाम्दै आउनुभएको रहेछ ।

आस्था र आभिलाषाको कुरा

भक्तजनहरुले म्हयपि अजिमाको मन्दिर जाने दुबै भर्‍याङको दायाँ–बायाँ यत्रतत्र ससाना चैत्य र अन्य देवदेवीका मूर्तिहरु स्थापना गरेका छन् ।

देवमूर्तिहरु र तीसंग सम्बन्धित शिलापत्रको आकार हेर्दा चैत्य र देवताको मूर्ति स्थापना गर्ने भन्दा पनि शिलापत्रमा आफ्नो नाम अंकित गरी प्रचार गर्ने चाहना प्रवल देखिन्छ ।

म्हयपिको दक्षिण फेदमा करिब आधा रोपनी जग्गामा फैलिएको एक गुम्बा पनि छ ।

म्हयपिमा पछिल्लो समय स्थापना गरिएका चैत्य, गुम्बा र देवदेवीको मूर्तिले नेपालको धार्मिक विविधता र सहिष्णुतालाई प्रतिविम्वित गरेको देखिए तापनि यो क्रम जारी रहेमा पछि यसले भद्दा रुप लिन सक्ने र म्हयपिको प्राकृतिक सौन्दर्यलाई नै नकारात्मक असर पुर्‍याउन सक्ने तर्फ सम्बन्धित सबैको र भक्तजनहरुको समेत ध्यान जानु जरूरी छ ।

देश धर्म निरपेक्ष भइसकेको परिप्रेक्ष्यमा क्रश्चियन र मुसलमान समुदायले पनि म्हयपि डाँडोको कुनै खाली ठाउँमा चर्च वा मस्जिद बनाउन जग्गा माग गरेमा आश्चर्य मान्नुपर्ने छैन । त्यस्तो बेला के गर्दा उचित होला भन्ने तर्फ अहिल्यै चिन्तन गर्दा राम्रो हुनेछ ।

 

*याे लेख लेखकले आजभन्दा ९ वर्ष अघि वि.सं. २०७१ सालमा अध्ययन गरी लेख्नुभएको लेख हो । वर्तमान परिप्रेक्ष्य अनुसार केही संशोधन गरी यहाँ प्रस्तुत गरिएको हो ।

Categorized in विचार