arin enterprises

भारतमा सैनिक योजनाको विरोध चक्र्याे

SamacharDesk | २०७९ आषाढ ३, शुक्रबार

भारतमा सैनिक भर्तिका लागि ल्याइएको नयाँ योजनाको विरोध चर्केर गएको छ ।

अग्निपथ नामक सैनिक भर्ति योजना अनुसार साढे १७ देखि २३ वर्ष उमेर समूहबाट सेनामा भर्ति लिइने छ ।

तर भर्ति गरिएको चार वर्षपछि  ७५ प्रतिशत जनशक्तिलाई अवकाश दिएर २५ प्रतिशतलाई मात्रै पूर्णकालिन सेनामा परिणत गर्ने प्रस्ताव गरिएको छ । यो प्रस्ताव तत्काल फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन भएको हो ।

योजनाको विरोधका क्रममा विहारमा गुडिरहेका दुई वटा रेलमा आगो लगाइएको छ । विहारको समस्तीपुरमा जम्मु तावी–गुहाटी एक्स्प्रेसका दुई वटा डब्बामा आगो लगाइएको हो ।

यस्तै लखिसराइमा पनि अर्को यात्रुबहाक रेलमा आगो लगाइएको छ । उत्तर प्रदेशको बालियामा पनि प्रदर्शनकारीहरु रेल वे स्टेसन भित्र छिरेर तोडफोड गरेका छन् । विहार, उत्तरप्रदेश, राजस्थान, पञ्जाव लगायतका राज्यहरुमा नयाँ भर्ति कार्यक्रमको व्यापक विरोध भएको छ ।

चार वर्षे सैनिक कार्यक्रमले सेनामा भर्ति हुने हजारौं युवाको सपना पनि पूरा हुने र सीमितलाई पनि पूर्णकालिन सेनामा परिणत गर्दा खर्च पनि कटौती हुने सरकारी तर्क छ ।

सामान्य अवस्थामा १५ वर्षे सेवा अवधिपछि आजीवन पेन्सन प्राप्त हुने भएकाले भारतमा सैनिक जागिर निकै आकर्षक मानिन्छ । सरकारले भने सशस्त्र जनशक्ति र त्यसबाट अवकाश पाउनेहरुको पेन्सन खर्च धान्नै नसक्ने अवस्थामा पुगेको भन्दै नयाँ योजना ल्याएको हो ।

तर प्रदर्शनकारीहरुले भने सेनामा चार वर्ष सेवा गरेपछि के गर्ने भन्ने प्रश्न उठाइरहेका छन् ।

यसैबीच प्रदर्शनकारीहरूले बिहारको उपमुख्यमन्त्री रेणु देवीको घरलाई पनि निशाना बनाएका छन्। यसबाहेक बिहार भाजपा प्रमुख तथा पश्चिम चम्पारणका लोकसभा सांसद सञ्जय जयस्वालको घरमा पनि आक्रमण भएको छ ।

हिंसाको सम्भावनालाई ध्यानमा राख्दै हरियाणा सरकारले फरीदाबाद र बल्लभगढमा इन्टरनेट सेवा अस्थायी रूपमा बन्द गरेको छ।

कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धी र पार्टी महासचिव प्रियंका गान्धीले अग्निपथलाई लिएर केन्द्रको मोदी सरकारलाई निशाना बनाएका छन्।

राहुल गान्धीले ट्वीट गर्दै प्रधानमन्त्रीलाई देशका जनता के चाहन्छन् भन्ने थाहा नभएको बताएका छन् ।

राहुलले भनेका छन्, ‘प्रधानमन्त्रीले आफ्ना साथीहरूको मात्र कुरा सुन्छन् । अर्कोतर्फ प्रियंका गान्धीले अग्निपथ योजना फिर्ता लिन माग गरेकी छन् ।

Categorized in अन्तर्राष्ट्रिय