अफ्रिकी मुलुक गाबोनमा सैनिक ‘कु’
SamacharDesk | २०८० भाद्र १४, बिहिबार
अफ्रिकी मुलुक गाबोनमा सैनिक ‘कु’ भएको छ ।
मंगलबार राति सेनाले सत्ता हातमा लिएको र राष्ट्रपति अली बोन्गो ओन्डिम्बालाई घरमै नजरबन्दमा राखेको जनाएको छ ।
बुधबार उच्च सैन्य अधिकारीले सत्ता नियन्त्रणमा लिएको त्यहाँको टेलिभिजनमार्फत बताएका हुन् । राष्ट्रपति बोन्गोलाई परिवारका सदस्य र चिकित्सकहरूसँगै राखिएको बताइएको छ ।
उनको एउटा छोरा राष्ट्रद्रोहको अभियोगमा पक्राउ परेका छन् । गत अगस्ट २६ मा भएको निर्वाचनमा ६४ वर्षीय बोन्गो तेस्रो कार्यकालका लागि निर्वाचित भएका थिए ।
निर्वाचनमा उनले ६४।२७ प्रतिशत मत प्राप्त गरेको घोषणा गरिएको थियो । उनका प्रतिस्पर्धी अल्बर्ट ओन्डो ओसाले ३०।७७ प्रतिशत मत पाएका थिए ।
सेनाले चुनावी परिणाम रद्द गर्दै अन्तर्राष्ट्रिय सीमा बन्द गरेको र सबै संस्थाहरुलाई विघटन गरेको घोषणा गरेको छ । अली सन् २००९ मा पहिलो पटक राष्ट्रपति भएका थिए ।
उनले सन् १९६७ देखि राष्ट्रपति रहेका ओमारबाट सत्ता प्राप्त गरेका थिए । गाबोन सन् २०२० यता सैनिक विद्रोह भएको अफ्रिकी महादेशको आठौं देश हो ।
गत जुलाईमा मात्रै अर्को अफ्रिकी मुलुक निजरमा सैनिक विद्रोह भएको थियो ।
Categorized in अन्तर्राष्ट्रिय