arin enterprises

प्रधानमन्त्री दाहाल नेतृत्व सरकारको मन्त्रिमण्डल विस्तार

SamacharDesk | २०७९ माघ ३, मंगलबार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । गएको पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रचण्डले आज दोस्रो चरणमा मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।

यो विस्तारसँगै अब मन्त्रिपरिषद सदस्य २३ पुगेको छ । प्रधानमन्त्री प्रचण्डले पुस ११ प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिँदै आठ सदस्यीय मन्त्रिपरिषद् बनाउनुभएको थियो ।

प्रधानमन्त्री दाहालले दुई मन्त्रालय वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी आफैँले सम्हाल्नु भएको छ । अब मन्त्रिपरिषदमा नेकपा एमालेबाट ८ जना, नेकपा माओवादी केन्द्रबाट ६, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ४ जना राप्रपाबाट ४ जना र जनमत पार्टीबाट १ जना रहेका छन् । प्रधानमन्त्री प्रचण्डको मन्त्रिपरिषदमा धेरैजसो नयाँ अनुहार समेटिएका छन् ।

जनता समाजवादी पार्टीबाट पनि मन्त्रिपरिषदमा सहभागी हुने बताइए पनि अन्तिममा त्यस दलका तर्फबाट भने सहभागी भएनन् । गएको पुस ११ गते नै उपप्रधानमन्त्री एवम् अर्थ मन्त्रीमा विष्णु पौडेल, उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवम् गृह मन्त्रीमा रवि लामिछानेले जिम्मेवारी सम्हालिसक्नु भएको छ ।

आजै उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा राजेन्द्रप्रसाद लिङ्देनले जिम्मेवारी सम्हालेसँगै उपप्रधानमन्त्रीको संख्या ४ पुगेको छ । आज मन्त्री बन्नेहरुमा एमालेबाट राष्ट्रिय सभा सदस्य डा. विमला पौडेल राईलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिएको छ ।

यस्तै एमालेले  हरि उप्रेतीलाई रक्षा मन्त्रालय, पदम गिरिलाई स्वास्थ्य, ज्वालाकुमारी साहलाई कृषि, दामोदर भण्डारी उद्योग, राजेन्द्र राई भूमि र भगवती चौधरीलाई महिला बालबालिका मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर दिएको छ ।

यस्तै  माओवादी केन्द्रले पाएको ४ मध्ये २ मन्त्रालयमा नयाँ सांसदलाई मन्त्री र राज्यमन्त्री  नियुक्त गरेको छ । माओवादी केन्द्रले पहिलो पटक संसद बनेका सुधन किराँतीलाई पर्यटन मन्त्री र अमनलाल मोदीलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएको छ ।

माओवादीले सुशीला श्रीपालीलाई पर्यटन राज्यमन्त्रीमा नियुक्त गरेको छ । यसैगरि राप्रपाका राजेन्द्र लिङदेन पनि मन्त्रालय सम्हाल्ने नयाँ अनुहारामा पुर्नहुन्छ । अध्यक्ष लिङ्देनले पहिलो पटक उर्जा मन्त्रालयको नेतृत्व सम्हाल्न पुग्नुभएको छ ।

राप्रपाबाटै दिपक सिंह बोहोरालाई उर्जा राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । राप्रपाबाट पहिलो पटक सासंद बनेका ध्रुव प्रधानलाई कानुन मन्त्रालयको जिम्मेवारी  दिइएको छ । नेपाली राजनीतिमा भर्खरै मात्र उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले गृहसहित ३ वटा मन्त्रालयको जिम्मेवारी पाएको छ ।

शिक्षा मन्त्री शिशिर खनाल र श्रममन्त्री डोलप्रसाद अर्याल तथा स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की नियुक्त हुनुभएको छ ।

Categorized in राष्ट्रिय