arin enterprises

युवाहरूले राजनीतिमा चासाे लिनुपर्नेमा मन्त्री बज्राचार्यकाे जाेड

SamacharDesk – बिराज | २०८१ आषाढ २८, बिहिबार

वागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यले अहिलेको युवा पुस्ताले राजनीतिमा चासो राख्नुपर्नेमा जोड दिएका छन् ।

आज बिहिबार काठमाडौंमा नेपाः युथ सांस्कृतिक पुचःबाट आयोजित कार्यक्रममा बोल्दै मन्त्री बज्राचार्यले यस्तो जोड दिएका हुन् ।

राजनीतिमा चासो भन्नाले कुनै दलमै आवद्ध हुने मात्र नभएर राज्यको नीतिमा हरेकको चासो हुनुपर्नेमा उनको जोड थियो ।

‘राज्यले के कस्तो नीति लिएको छ ? देशको संविधान, कानूनले के कस्तो विषयमा के कस्तो व्याख्या गरेको छ, त्यसको अध्ययन सबैले गर्नुपर्छ, यसबारे सबैले थाहा पाउनुपर्छ । राजनीतिमा युवा पुस्ताले चासो राखेमा देशको विकासमा टेवा पुग्छ’ मन्त्री बज्राचार्यको भनाई हो ।

समाजमा राजनीति भनेकै फोहोरी खेल भन्ने छवि बनेकोमा राजनीति भनेको देश विकासको मार्ग हो भनेर युवा पुस्ताले सावित गर्नुपर्ने विचार बज्राचार्यले राखे ।

नेपाः युथ अर्गनाइजेसनको भातृ संगठन नेपाः युथ सांस्कृतिक पुचःले आजबाट साढे दुई महिने धिमेय् प्रशिक्षण सुरु गरेको हो । आज नासः पूजा गर्दै प्रशिक्षणको सुरुवात गरिएको थियो ।

सोही प्रशिक्षणको औपचारिक उद्घाटन कार्यक्रममा मन्त्री बज्राचार्यले युवा पुस्ताले धिमेय् लगायत सांस्कृतिक बाजागाजाको प्रशिक्षणमा देखाएको चासोको पनि प्रशंसा गरे ।

परम्परागत संस्कृतिलाई पनि बचाउँदै राज्यको नीति निर्माण तहसम्म पहुँच बनाउने विचार युवाहरुले लिन उनले आग्रह गरे ।

भूमि आयोग काठमाडौं जिल्ला समितिका अध्यक्ष साथै नेपाः युथ अर्गनाइजेसनका संस्थापक अध्यक्ष श्यामकृष्ण प्रजापतिले स्थानीय धर्म, संस्कृति, परम्पराको संरक्षण सम्वर्द्धनमा अर्गनाइजेसनले निरन्तर काम गर्दै आएको बताए ।

साढे दुई महिने यस प्रशिक्षणका लागि व्यवस्थापकिय पक्षको केही खर्चको हिसाबले मात्रै प्रशिक्षार्थीहरुसँग न्यून शुल्क मात्र लिइएको र विपन्न परिवारका प्रशिक्षार्थीलाई निःशुल्क नै प्रशिक्षण दिन लागिएको जानकारी प्रजापतिले दिए ।

नेपाः युथ अर्गनाइजेसनका कार्यवाहक अध्यक्ष, पुचःया अध्यक्ष आर्यन महर्जनले संगठनबाट स्थानीय धर्म, संस्कृति, परम्पराको संरक्षणको साथै सामाजिक क्षेत्रमा निरन्तर सक्रिय रहिरहने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा कानून व्यवसायीसाथै संस्थाका कानूनी सल्लाहकार युद्धमान महर्जन, देय् बाजा गुरु शेषनारायण महर्जनको पनि उपस्थिती थियो । 

Categorized in समाज