चिनको विकासबाट नेपालले पनि सिक्नुपर्छ : मन्त्री श्रेष्ठ
SamacharDesk | २०७९ कार्तिक ३, बिहिबार
चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ महाधिवेशनको अवसरमा ललितपुरमा फ्रेण्ड्स अफ सिल्क रोड क्लबले चाइना एक्स्ट्रा अर्डिनरी फोटो फेयर आयोजना गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले छिमेकी मित्रराष्ट्र चीनको समृद्धि र आधुनिकीकरणबाट नेपालले शिक्षा लिनुपर्ने बताउनुभएको छ ।
मन्त्री श्रेष्ठले सामाजिक र आर्थिक विकासलाई नयाँ उचाइमा पुर्याएर चीनले विश्वको पहिलो आर्थिक शक्ति राष्ट्रमा सूचीबद्ध हुने सफलता हासिल गरेको बताउनुभयो ।
पछिल्लो समय चीनले गरिबी निवारणमा उच्चतम सफलता हासिल गरी गरिबी पूर्ण उन्मूलन गरेको भन्दै उहाँले औद्योगिकीकरण र सूचना प्रविधिको क्षेत्रमा चीनले पाएको सफलताबाट प्रेरणा लिनुपर्ने बताउनुभयो ।
उहाँले जनस्तरमा भएको चीन–नेपाल बीचको सम्बन्धले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने उल्लेख गर्नुभयो । उहाँले चीनको विकासले नेपाल पनि लाभान्वित हुने भन्दै नेपालको विकासमा चीन सरकारले गरेको सहयोग अविस्मरणीय रहेको बताउनु भयो ।
उहाँले भूकम्पपछिको पुनःनिर्माणमा नेपाललाई चीन सरकारले गरेको सहयोगको स्मरण गर्नुभयो ।
फोटो प्रदर्शनीमा चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको एक सय वर्षको अवसरमा चीनले हासिल गरेका उपलब्धिहरु समेटिएका छन् ।
Categorized in राष्ट्रिय