परिक्षणको क्षमता वृद्धि भएको स्वास्थ्य मन्त्रालयको दावी
SamacharDesk – शिवेश शर्मा | २०७७ श्रावण ४, आइतबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिमको आधारमा प्राथमिकता दिनुपर्ने व्यक्तिहरु केही दिनदेखि कम हुँदै गएकाले परिक्षण तथ्यांकमा केही कमी आएको बताएको छ ।
मन्त्रालयको नियमित प्रेस व्रिफिङमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण पोजेटिभ देखिनेहरुको संख्या र प्रतिशतमा पनि दिनहुँ कमी आउँदै गरेको बताउँदै तथ्य र प्रमाणमा आधारित भई परिक्षण गर्नमा मन्त्रालय अहोरात्र खटेको दावी गर्नुभयो ।
संक्रमितको संख्या कम हुँदै गएको भन्दैगर्दा जोखिम भने कम भइ नसकेको पनि डा. गौतमको भनाई थियो ।
‘छिमेकी देशमा विरामीहरु बढ्दै जानु, विदेशबाट आवागमण वृद्धि हुनु, धेरै जनघनत्व भएका स्थानहरुमा भीडभाड हुनु र जनस्वास्थ्यका न्यूतम मापदण्डहरुको पनि उल्लंघन भइरहेकाले हामी थप जोखिममा छौँ’ डा. गौतमको भनाई थियो ।
कोभिड १९ महामारी निर्मूल गर्ने आधार परिक्षण मात्र नभई सामाजिक दुरी लगायतका सावधानीका उपाय अवलम्बन गरेमात्र यस रोगलाई मानवजगतले जित्न सकिने विचार गौतमले राखे ।
यसको साथै प्रदेश सरकार र स्थानीय सरकारको साथै निजी क्षेत्रबाट पनि परिक्षण गर्ने कार्यहरु भइरहेको जानकारी दिँदै गौतमले मन्त्रालयबाट पि.सि.आर. परिक्षण गर्ने प्रयोगशालाहरुको विस्तार भइरहेको दावी पनि गरे ।
अहिले नेपालभरीबाट स्वाब नमूना परिक्षण गर्ने क्षमतामा निकै वृद्धि भएको गौतमको भनाई थियो ।
जोखिमको सम्भावनालाई ध्यानमा राखेर मन्त्रालयले समुदाय स्तरमा ४५ हजार जनाको नमूना परिक्षण गर्ने गरी काम भइरहेको पनि उनले जानकारी गराए ।
‘काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट लिइएका नमूनाहरुको नतिजा हेर्दा परिक्षण भन्दा पनि जनस्वास्थ्यका मापदण्डहरु ध्यान दिनुपर्ने देखियो’ डा. गौतमको भनाई थियो ।
मन्त्रालयको उच्च स्तरीय बैठकबाट भएका विभिन्न निर्णयहरुको बारेमा पनि गौतमले जानकारी गराए ।
विदेशबाट आएका, संक्रमितहरुको सम्पर्कमा आएका, स्वास्थ्यकर्मीहरु, अत्यावश्यक सेवाकर्मीहरुलाई चिकित्सकको सल्लाह अनुरुप परिक्षण गर्न पाउने निर्णय गरिएको छ ।
साथै विदेशबाट आएकालाई होल्डिङ सेन्टरमा ५ दिन राखेर मात्र सम्बन्धित स्थानीय तहमा पठाउने र स्थलमार्ग परिक्षण गरी मात्र घर पठाउने निर्णय गरिएको पनि गौतमले बताउनुभयो ।
साथै, सिंहदरवार भित्रका सरसफाईमा संलग्न कर्मचारीहरुको पनि कोभिड–१९ संक्रमण जाँच गर्ने निर्णय गरिएको जानकारी आजको प्रेस व्रिफिङमा दिइएको थियो ।
Categorized in राष्ट्रिय