परिमार्जित ‘पीर’ सार्वजनिक
SamacharDesk – राम डंगोल | २०७८ चैत्र ११, शुक्रबार

गायक प्रकाश सपुतले पछिल्लो गीत पीरबाट हटाएको दृश्य कसैको दबाबमा नभइ समाजको भावनालाई बुझेर हटाएको स्पष्टिकरण दिनुभएको छ ।
गायक सपुतको पछिल्लो गीत ‘पीर’ मा जनयुद्धकालीन परिवेशमा देश विकासका लागि लडेका योद्धाहरुको दुःख देखाइएको छ ।
नेकपा (माओवादी केन्द्र) निकटका भातृसंगठनहरुले जनमुक्ति सेना र आम कार्यकर्ताको व्यवस्थापन हुन नसकेको सही भएपनि जनयुद्धमा सहभागी महिलाहरु शरीर बेच्ने काममा संलग्न रहेको सन्देश दिने गरी दृश्य समावेश गर्नु आपत्ति जनाएका थिए ।
’पीर’ बोलको गीतको भिडिओमा नेपालमा सशस्त्र द्वन्द्व हुँदा माओवादी लडाकु रहेका एक जोडीले वर्तमान समयमा भोगिरहेको अभाव र पीडाको कथा देखाइएको छ ।भिडियोको एउटा दृश्यमा पूर्वलडाकु महिला अभावकै कारण देहव्यापारमा संलग्न भएको चित्रण गरिएको छ । त्यही दृश्यमाथि अधिकांश माओवादी नेता तथा कार्यकर्ताहरूले आपत्ति जनाएका हुन् ।
शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गायक प्रकाश सपुतले पीर गीतमा रहेको देहव्यापार सम्बन्धी दृश्य कसैको दबाबमा नभइ समाजको भावनालाई लिएर हटाएको बताउनु भएको हो । उहाँले उक्त सीनले समाजमा र त्यस्तै पेशामा आधारित मानिसहरुलाई झनै पीर परेको भन्दै गीतबाट केहि दृश्य हटाउनु परेको बताउनु भयो ।
गायक सपुतले जनयुद्ध लडेर समाज विकास नभएकोले निराश बनेका योद्धाहरु उक्त दृश्यबाट झनै चिन्तित बनेको भन्दै गीतमा भएको केहि दृश्य हटाएर पुनः सार्वजनिक गरेको बताउनु भयो । उहाँले उक्त कुरालाई भावनात्मक रुपमा बुझिदिन पनि समस्त श्रोता एवं दर्शकहरुलाई आग्रह गर्नुभयो ।
Categorized in पेजथ्री