arin enterprises

मौद्रिक नीति सार्वजनिक : बैंक दर र नीतिगत दर घट्यो

SamacharDesk | २०८० मङ्सिर २२, शुक्रबार

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यादिशालाई लचिलो बनाएर नीतिगत दर र बैंक दर दुबै घटाएको हो । बैंक दरलाई ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशत र नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत कायम गरिएको छ ।

यस्तै निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाएर ३ प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै राष्ट्र बैंकले रियल इस्टेट र शेयर कर्जाको जोखिम भार घटाउनेदेखि कर्जा पुनःसंरचना र पुनःतालिकीकरण चैत मसान्तसम्म थप गर्ने र पोलिसी रेट घटाएको छ ।

बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल इस्टेट कर्जा र ५० लाखभन्दा बढीको शेयर धितो कर्जाको १५० रहेको जोखिम भार घटाएर १२५ प्रतिशत कायम गरेको छ ।

यसअघि ५० लाखभन्दा बढीको शेयर कर्जामा जोखिम भार १५० प्रतिशत रहेको थियो । समीक्षाले गत कात्तिक १७ मा गएको भूकम्पका कारण क्षतिग्रस्त भएका आवासीय घरहरुको पुनर्निर्माणका लागि सस्तो ब्याजमा ऋण दिइने भएको छ ।

‘सरकारले तोकेका निकायले भूकम्प प्रभावितको रुपमा सूचीकरण गरेका परिवारलाई बैंक तथा वित्तीय संस्थाले २५ लाखसम्मको आवासीय घर कर्जा दिंदा आधार दरमा २ प्रतिशत बिन्दुभन्दा बढी प्रिमियम थप गर्न नपाउने व्यवस्था गरिने छ,’ समीक्षामा उल्लेख छ ।

यस्तै कात्तिकको भूकम्पका कारण क्षतिग्रस्त भएका सार्वजनिक विद्यालय, सार्वजनिक अस्पताल तथा स्वास्थ्य चौकीको पुनर्निर्माणका लागि बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को मुनाफाबाट सामाजिक उत्तरदायित्व कोषमा छुट्टयाई खर्च गर्नुपर्ने रकमको ४० प्रतिशतसम्म योगदान गर्न सक्ने व्यवस्था गरिएको छ ।

अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखिएको छ । विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षहरुको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी मौद्रिक नीतिको कार्यादिशालाई लचिलो बनाएको केन्द्रीय बैंकले जनाएको छ ।

Categorized in राष्ट्रिय