थप १२ जना संक्रमण निको भई अस्पतालबाट डिस्चार्ज
SamacharDesk – विकाश | २०७७ जेठ २१, बुधबार

थप १२ जनाले कोरोना संक्रमणलाई जितेर घर फर्केका छन् । देशका विभिन्न अस्पतालबाट १२ जना संक्रमण निको भई डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
कोरोना परिक्षणको पछिल्लो दुई वटा रिपोर्टको नतिजा नेगेटिभ आएपछि उनीहरुलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो ।
पछिल्लो पटक डिस्चार्ज हुनेमध्ये जनकपुर अस्पतालबाट ५ जना डिस्चार्ज भएका छन । उनीहरुमध्ये २० वर्षीय महिला एकजना छिन् भने १९ देखि ४० वर्ष उमेर समूहका ४ जना पुरुषहरु रहेका छन् ।
धनुषा, महोत्तरी र सर्लाहीका तिनीहरु अस्पताल भर्ना भएको ११औं देखि १६औं दिनको अवधिमा निको भएर डिस्चार्ज भएका हुन् ।
टेकु अस्पतालबाट ६९ वर्षीय पुरुष एक जना पनि डिस्चार्ज भएका छन् । काठमाडौंका उनी ९ दिनको अस्पताल बसाईँपछि डिस्चार्ज भएका हुन् ।
त्यसैगरी बलम्बुस्थित युनिफाइड कमान्ड अस्पतालबाट रौटहटका ३४ वर्षीय पुरुष एकजना पनि संक्रमण निको भई द्धर फर्केका छन् ।
शिक्षण अस्पतालबाट कपिलवस्तुका ६ वर्षीया बालिका पनि संक्रमण निको भई १९औं दिनमा घर फर्किए ।
बुटवल धागो कारखानामा बनाइएको कोरोना अस्थायी अस्पतालबाट अर्घाखाँची र कपिलवस्तुका ४ जना निको भएर डिस्चार्ज भएका छन् । १८ देखि ५४ वर्ष उमेर समूहका पुरुषहरु १० देखि २५औं दिनमा डिस्चार्ज भएका हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको कुल संख्या २ सय ७८ पुगेको छ । तीमध्ये २ सय २२ जना पुरुष र ५६ जना महिलाहरु हुन् ।
निको हुनेहरुमा प्रदेश १ बाट ४८ जना रहेका छन् भने सबभन्दा बढि प्रदेश २ बाट एक सय ९ जना निको भए ।
त्यसैगरी बागमति प्रदेशमा ३१, गण्डकी प्रदेशमा ३ जना, प्रदेश ५ मा ८० र सुदुरपश्चिम प्रदेशमा ७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
Categorized in समाज